विराटनगर । कोकाह खोलाको पानी वराहक्षेत्र नगरपालिकाको भू–भाग प्रयोग गरेर धरान लैजाने विषयमा आज पनि सम्झौता हुन सकेन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संस्थागत निर्णय ल्याउन नसक्दा आज हुने भनिएको लिखित सम्झौता हुन नसकेको हो ।
जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा दुई पालिकाबीच भएको बैठकमा वराहक्षेत्र नगरपालिकाले कोकाहको खोलाको पानी धरान लैजाने विषयमा धरान उपमहानगरपालिको संस्थागत निर्णय माग गरेको थियो ।
बैठकमा वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोकाह खोलाको पानी वराहक्षेत्र नगरपालिकाको भू–भाग प्रयोग गरी धरानवासीलाई पानी खुवाउने कार्य स्वागत योग्य भएको तर स्थानिय तहबीच कुनै पनि सहकार्य र समन्वय नगरेको हुँदा सो कार्यहरू सम्पन्न गर्नका लागि लिखित रूपमा दुई स्थानिय तहबीच सम्झौता गर्नुपर्ने बताएका थिए ।
कोकाह खोलाको खानेपानीको विषयमा खानेपानीको योजनाका लागि वातावरणीय अध्ययन प्रतिवेदन डिपिआर हुनुपर्ने, धरान उपमहानगरपालिकाको कार्यालयको र धरानस्थित खानेपानी बोर्डको संस्थागत निर्णय हुनुपर्ने, धरानले उक्त लगेको खानेपानी निःशुल्क वितरण गर्ने हो भने वराहक्षेत्र नगरलाई कुनै रोयल्टी दिनु नपर्ने तर श–शुल्क वितरण गर्ने हो भने कानुन रोयल्टी (कुल आम्दानीको) वराहक्षेत्र नगरलाई बुझाउनु पर्ने माग वराहक्षेत्र नगरपालिकाले राखेको थियो ।
बैठकमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हाल कार्यपालिकाको बैठक बस्न नसेको कारण निर्णय गराउन सकिने अवस्था नगरेको बताए । उनले खानेपानीको सम्बन्धी निर्णय गर्ने अधिकार कार्यपालिकाले मेयरलाई दिएकाले मेरो निर्णय नै संस्थागत हुने जिकिर समेत गरेका थिए । अन्य माग भने पूरा गर्न तयार रहेको साम्पाङको भनाई थियो ।
