धरान । झापाका सूर्योदय टेलिभिजनका सम्पादक उमाकान्त खनाललाई यौन दुर्व्यवहारको आरोप लागेको छ । महिलासँग हुने यौन दुर्व्यवहारविरुद्ध जनचेतना बढाउँदै आएका खनाललाई आफ्नै सहकर्मी महिला पत्रकारसँग यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।
सञ्चारिका समूहद्वारा आइतबार प्रकाशित वक्तव्य अनुसार खनाललाई सोही टेलिभिजनमा कार्यरत पत्रकार भावना लिङदेनमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।
संचारिका समूहले यौन दुर्व्यवहारमा संलग्न रहेका सम्पादक खनाललाई कानुनी कारबाहीको दायरामा ल्याउन र पीडित पत्रकार भावना लिङ्देनको सामाजिक प्रतिष्ठामा भएको क्षतिपूर्ति तथा पेसागत सुरक्षाको प्रबन्ध गर्न सम्बन्धित नियामक संस्था र स्थानीय प्रशासन समक्ष माग गरेको छ । प्रेश विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महिलामाथि हुने यौन हिंसाका घटनाको उचित छानबिन गरी दोषीलाई कारवाही तथा पीडितको पेशागत सुरक्षाको ग्यारेन्टी नभएमा यस्ता घटनाले पत्रकार महिलाहरुको जीवनरक्षा र पेशागत दायित्वमाथि गम्भीर आघात पुग्छ । यौन दुर्व्यवहारमा संलग्न रहेका सम्पादक खनाललाई कानुनी कारवाहीको दायरामा ल्याउन र पीडित पत्रकार भावना लिङ्गदेनको सामाजिक प्रतिष्ठामा भएको क्षतिपूर्ति तथा पेशागत सुरक्षाको प्रबन्ध गर्न सम्बन्धित नियामक संस्था र स्थानीय प्रशासन समक्ष सञ्चारिका समूह जोडदार माग गर्दछ ।’
पत्रकार लिङ्देनले बैशाख ५ गते एउटा भिडियो सार्वजनिक गर्दै पत्राकारिता छोडेको घोषणा गरेकी थिइन् ।
पत्रकार लिङ्देनले तत्काल कानुनी प्रक्रियामा नगएको जानकारी दिइन् । ‘म पत्रकार महासंघको निर्णय पर्खिरहेकी छु’, उनले भनिन् । उनी प्रेस चौतारीकी पाँचथर सचिव हुन् ।

