November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पहिचानवादीहरुको चित्त फराकिलो हुनुपर्छ, असमझदारी हुनुहुँदैन: खगेन्द्र संग्रौला

1.6K

विराटनगर । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै पहिचानवादीहरुले इटहरीमा प्रदर्शन गरेका छन्। पूर्वका विभिन्न जिल्लाबाट सहभागी भएका पहिचानवादीहरुले इटहरी मुख्य बजार क्षेत्रमा आइतबार प्रदर्शन गरेका हुन्।

प्रदर्शनपछि कोणसभामा बोल्दै लेखक खगेन्द्र संग्रौलाले अब पहिचान पक्षधरले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले भने, ‘पहिचान पक्षधरले पुरानै पार्टीका नेता काँग्रेस, एमाले र माओवादीका नेताहरुलाई भोट हालेर जिताउने हो भने पहिचानको मुद्दा छाड्दा हुन्छ । अब पहिचान पक्षधरले गम्भीर भएर सोच्नुपर्छ।’

यस्तै उनले राज्य चलाउनेको चित्त सानो भएको टिप्पणी गर्दै पहिचानवादीहरुको भने फराकिलो चित्त हुनुपर्ने बताए। राई, लिम्बु वा अन्य कुनै पनि पहिचानवादीबीच कुनै पनि प्रकारको असमझदारी हुन नहुने उनले बताए ।

Advertisement

यसैगरी पहिचानवादी नेता गोविन्द छत्यालले दलका नेताहरुले गरेको प्रतिबद्दता कुल्चिएको बताए। उनले भने, ‘हाम्रो आन्दोलन शीर उठाउने आन्दोलन हो, कोशी प्रदेश खारेज नभएसम्म आन्दोलन चलि रहनेछ ।’

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष सन्जुहाङ् पालुङ्वाले पहिचानको आन्दोलनलाई निश्कर्षमा नपुर्‍याएसम्म विश्राम लिन नहुने बताए । पहिचानवादी नेता रघुविर ठकुनाले कोशी प्रदेश खारेजीको आन्दोलन उत्कर्षमा पुर्‍याउन देशभरीबाट आन्दोलन चर्काउनुपर्ने बताए।  

प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका कार्यकर्ता र प्रहरीबीच शनिबार विराटनगरमा झडप भएकाले गर्दा पनि प्रहरीले इटहरीमा उच्च सावधानी अप्नाएर चौरास्त चोकमा खुल्ला ढंगले कार्यक्रम सञ्चालन गर्न दिँदा कुनै खतरा हुन पाएन्। शनिबार विराटनगरमा झडपका क्रममा ११ जना घाइते भएका थिए। जसमा आन्दोलनकारी तर्फ ५ जना र प्रहरीतर्फ ६ जना घाइते भएका थिए। प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले ८१ सेल अश्रुग्याँस प्रहार गरेको  थियो।

पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा प्रदर्शन गर्दा पदम लिम्बु (लाजेहाङ) घाइते भएका थिए। घाइते भएका लाजेहाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो।

लाजेहाङको मोरङको वेलवारीमा विराटनगरमा शव परिक्रमापछि अन्त्येष्टि गरिएको छ। कोशी प्रदेशको नामाकरण फागुन १७ गते भएपछि पहिचानवादी समूहले आन्दोलन चर्काउँदै आएका छन्।