काठमाडौं। ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोड गर्नुका साथै गाडीमा राखिएको झण्डा निकालेर फालिएको छ । कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका वडा नं. ११ को गोरुमारेभन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडी तोडफोड गरेका हुन् ।
जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यस गर्न चैत्र ५ गते ओखलढुंगा पुगेका मुख्यमन्त्री कार्कीलाई बिहानैदेखि आन्दोलनकारीहरूले कालो झण्डा देखाउँदै सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए ।
कडा सुरक्षाकाबीच ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण नगरपालिका १ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की जाँदै गर्दा मुख्यमन्त्री विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीले कालोझण्डा समेत देखाएका थिए । सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच केही समय झडपसमेत भएको थियो ।
यसअघि मुख्यमन्त्री हिक्मत कार्कीको कार्यक्रमलाई पहिचान पक्षधरहरुले अबरोध गरेका छन् । ओखलढुंगामा विभिन्न विकास निर्माणका कार्यक्रमको शिलान्यास गर्न पुगेका मुख्यमन्त्री कार्कीको कार्यक्रमलाई रमाइलोडाँडामा टायर बालेर पहिचान पक्षधरहरुले अबरोध गरेका हुन् ।
मुख्यमन्त्री कार्कीको रुम्जाटारपछि सिद्धिचरण नगरपालिका वडा नम्बर ६ र लगतै शहरी विकास तथा भवन कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेकोमा पहिचान पक्षधरहरुले रमाइलोडाँडाको मुख्य चोकमा टायर बालेर विरोध गरेपछि बाँकी कार्यक्रम स्थगित गरेर सिधै रुम्जाटार गएको जनाइएको छ ।
पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको यश बिरोध कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो ।
