चखिया । यस वर्षको देशकै प्रतिष्ठित र ठूलो धनराशिको पुरस्कार पहिचान पुरस्कार शनिबार भोजपुरको चखियामा भव्य कार्यक्रमबीच अर्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्रख्यात कवि तथा गीतकार भुपाल राईद्वारा श्रीजङ्गगा, फाल्गुनन्द र इमानसिङ चेम्जोङको लेखोटका लेखकद्व्य अर्जुन मावुहाङ, अमित थेवे र गुरु उपन्यासका लेखक कविता राईलाई सो पुरस्कार वितरण गरिएको हो ।
पुरस्कृत श्रष्ठाहरुलाई पुरस्कार कोषका संस्थापक काङबाङ नरेश राईले फेटा गुथेर सम्मान गरेका थिए भने कवि हाङयुग अज्ञातले मेडल प्रदान गरेका थिए । यस्तै पुरस्कारको नगदराशी पहिचान पुरस्कार बोर्डका अध्यक्ष प्रकाश नुमिहाङ राईले प्रदान गरेका थिए । सो पुरस्कारको राशी ४ लाख २ हजार २ रुपियाँ रहेको छ । पुरस्कृत श्रस्ठाहरुको सायाचोक्मा नाक्छोङले उठाएका थिए ।
पुरस्कार वितरण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले पहिचान कमजोर हुनुमा राज्यसत्ता मात्र हैन स्वयं हामी पहिचानवादीहरुको पनि त्यतिकै कमजोरी रहेको बताए । उनले भने ’हामीलाई एकजुट भएर हाम्रो अधिकार माग्ने सद्बुद्धी कहिल्यै आएन । पछिल्लोपल्ट पहिचानमाथि भएका हस्तक्षेपहरु यसैको उदाहरण हुन् । सकेसम्म म अहिले एकेडेमीलाई सबैको साझाथलो बनाउने प्रयत्नमा छु ।’

यस्तै, प्राज्ञ राजन मुकारुङले पहिचानलाई स्थापित गरिनु भनेको सिङ्गो देश समृद्ध हुनु रहेको बताए । उनले राजनीति स्थिर रुपमा टिकाउन साँस्कृतिक चेतना कहिल्यै नआएकोले राजनीति धरायसी भैरहेको बताए ।
कार्यक्रममा सिर्जनशील अराजकका हाङयुग अज्ञात कवि देवान राई, प्राज्ञहरु चन्द्र रानोहँछा मुनाराज शेर्मा, टेम्केमयुङका गाउँपालिका प्रमुख रमेश बस्नेतलगायतले बधाई मन्तव्य राखेका थिए भने पुरस्कृत कृतिमाथि कवि साङ्सेन पन्धाकले चर्चा गरेका थिए ।
श्रीजङ्घा, फाल्गुनन्द र इमानसिङ चेम्जोङका लेखक अमित थेबेले आफू पहिचानको एउटा पवित्र भूमि भोजपुरमा यो पुरस्कारले पुरस्कृत हुँदै गर्दा आफूमा अरु जिम्मेवारी थपिएको बताए ।
अर्का सहलेखक एवम लालीगुराँस नगरपालिका प्रमुखसमेत रहेका अर्जुनबाबु माबुहाङले आफ्नो इतिहास र आफ्ना कुराहरु आफैले लेखेर स्थापित गर्नुपर्ने बताए ।
यस्तै, अर्का पुरस्कृत श्रष्ठा आख्यानकार कविता राईले राज्य एकीकरणको नाममा आफ्नो भूमिको भाषा, साहित्य, संस्कृतिमाथि धावा बोल्दै गर्दा गुरुमा सकेसम्म माझकिरातको पहिचानको कुरालाई उठाउने कोसिस गरेको र यो पुरस्कारले आफूलाई निरन्तर कलम चलाउने प्रेरणा मिलेको बताइन् ।
नव सिर्जना साँस्कृतिक समुहका कलाकारहरुले नृत्य प्रस्तुत गरेर साङ्गीतिक मनोरन्जन दिलाएको कार्यक्रमलाई जीवन किरातीले सन्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पहिचान पुरस्कार बोर्डका अध्यक्ष प्रकाश नुमिहाङ राईले राखेका थिए भने कार्यक्रममा साभाध्यक्ष्य सो पुरस्कार कोषका संस्थापक काङमाङ नरेश राई रहेका थिए ।

