March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

‘कोसी प्रदेश’ नामकरणविरुद्ध आमहड्ताल, प्रदेशका मुख्य सहरहरु ठप्प

२०७९ फाल्गुन २८

7.7K

प्रदेश नम्बर १ पुन नामाङ्कन संयुक्त समितिद्धारा ठप्प पारिएको धरान

काठमाडौं । कोसी प्रदेश नामकरणविरुद्ध पहिचानवादीहरूले आज हड्ताल गरेका छन् । पहिचानवादीहरुको चाहना र मर्मविपरित मध्यरातमा छापामार शैलीमा रातारात कोसी प्रदेश नामकरण गरेको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । आन्दोलनकर्मीहरु चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्ग ठप्प भएको छ । सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । आजको बन्द हड्ताल साँझ ५ बजेसम्म रहने छ ।

विराटनगरमा आन्दोलनकारीहरू

शनिबार प्रदेशव्यापी राँके जुलुस निकालेका प्रदेश नम्बर १ पुन नामाङ्कन संयुक्त समितिले आज प्रदेशव्यापी आमहड्ताल गरेको हो । प्रदेशका मुख्य सहरहरु, विराटनगर, धरान, इटहरी, दमक, विर्तामोड लगायत सबै जिल्लाहरुमा अहिले हड्ताल जारी छ ।

Advertisement

आन्दोलनको क्रममा प्रहरीले दमन गरेका छन् । विभिन्न ठाउँबाट आन्दोलनकारीहरुलाई पक्राउ गरिएको छ । कियाचु अध्यक्ष प्रेम येक्तेनका अनुसार अहिलेसम्म दमकबाट किरात लिम्बुवान नामांकन अभियान समितिका प्रेमदिप थाम्सुहाङसहित ११ जना, वर्तामोडबाट ८ र काँकरभिट्टाबाट २ जना आन्दोलनकारी पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई बिनासर्त तुरुन्तै रिहाइ गर्न आन्दोलनकारीहरुले आग्रह गरेका छन् । यस्तै समाचार संकलनका लागि पुगेका पत्रकारलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै यो प्रहरीले गरेको दुव्र्यवहार ठहर भएको आन्दोलनकारीहरु बताउछन् ।

पहिचान पक्षधरहरुले दमक सहर ठप्प पारेको एक दृष्य

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो । पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् । प्रदेशको नाम पुनरलेखन नगरेसम्म आन्दोलन जारी रहने किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । ‘जनताको मनमा बाल्नेलाई सडकबाट खबरदारी गरिरहेका छौं ।’, उनले भनिन् ।

चैत्र ५ गते विराटनगरमा विशाल जनप्रदर्शन हुने प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जनाएको छ ।

इटहरी बन्दको क्रममा कियाचु अध्यक्ष प्रेम येक्तेन लगायत आन्दोलनकारीहरू