काठमाडौं । ‘कोशी प्रदेश’ नामकरण गरिएकोप्रति याक्थुङ युवा मञ्चले आपत्ति जनाएको छ । लिम्बुवान र किरात खम्बुवान क्षेत्रको ऐतिहासिक पृष्टभूमी रहेको क्षेत्रलाई कुनै बहस र छलफल नगरिकन कोशी प्रदेश नाम पारित गरिएको भन्दै मञ्चले आपत्ति जनाएको हो।
मञ्चकी अध्यक्ष प्रज्ञा इजमले एक विज्ञप्ति जारी गर्दै संसोधनसहित साझा पहिचानको आधारमा ‘लिम्बुवान किरात’ नामकरण गर्न आग्रह गरेकी छन् । ‘प्रदेशको भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक, ऐतिहासिक एवम् पहिचानको आधारमा लिम्बुवान स्वायत्त प्रदेश प्राप्तिका लागि उठेका राजनीतिक आन्दोलनहरु, विगतमा नेपाल सरकारसँग पटकपटक भएका सहमतिहरु र सातसालको क्रान्ति, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई साझा पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नाम राख्नुपर्दछ भन्ने धारणा राख्दै पटक पटक सङ्घर्षको कार्यक्रमहरु गर्दै आइरहेको छौं । तर यी आन्दोलन र सहमतिहरुको मर्म र भावनाविपरित कोशी प्रदेश नामकरण: गरिएकोमा हामी असहमति जाहेर गर्दै घोर विरोध जनाउदछौं । र संसोधनसहित साझा पहिचानको आधारमा ‘लिम्बुवान, किरात’ नामकरण गर्न आग्रह गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।
पञ्चायती शैलीमा जबरजस्ती ढङ्गले एकल पहाडे हिन्दु ब्राह्मण पहिचानमा आधारित प्रदेशहरुको नामाकरण गरिरहेको मञ्चको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘पहिचानमा आधारित प्रदेशहरुको निर्माण गर्न संविधानसभाको विषयगत समिति र राज्य पुनःसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिमका प्रदेशहरु सुनिश्चित हुनुपर्ने माग थियो तर सोको मर्मविपरित प्रदेशहरुको नामाकरण घोषणा गरियो । केन्द्रीकृत एकात्मकवादी चिन्तनका धड्डीहरु झल्कने गरी पञ्चायती शैलीमा जबरजस्ती ढङ्गले एकल पहाडे हिन्दु ब्राह्मण पहिचानमा आधारित प्रदेशहरुको नामाकरण गरिरहेको समयमा हामीले खेद व्यक्त गर्दै विरोध जनाएका छौं ।’
कोशी एकल पहाडे हिन्दु ब्राह्मण पहिचानमा आधारित, एकल जातीय शासकीय संकीर्णतामा आधारित प्रदेश रहेको ठहर गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विविधता र सबैको आत्मसम्मान गर्न सक्ने ऐतिहासिक पृष्टभूमीको आधारमा नाम संसोधन गरी लिम्बुवान, किरात’ नामकरण गर्न मञ्चले माग गरेको छ।