विराटनगर । कोसी प्रदेश नामकरण विरुद्ध बिराटनगरमा बिरोध प्रदर्शन गरिएको छ ।छापामार शैलीमा प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेशको नामकरण गरेको भन्दै पहिचान पक्षधरहरूले कार्कीको पुत्लासमेत जलाएको हो ।
पहिचानवादी विभिन्न संघसस्थाहरूले शुक्रबार कोसी प्रदेशको खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरुले सडकमा विरोध प्रर्दशन गर्दै कोशी प्रदेश खारेजी गरिनुपर्ने र पहिचानको आधारमा लिम्बुवान– किरात प्रदेश नामकरण गरिनुपर्ने माग राखेका छन् । प्रदेश १ को नामकरण पहिचानसहितको नराखे देशभरी आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।
बिरोध सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङदेनले कोसी प्रदेशलाई खारेज गरी जलाएरै छाड्ने बताए । ‘हिक्मत कार्की र काँग्रेस, एमालेले आगोसँग खेलेका छन् । लिम्बुवान र किरातलाई जलाएर राग बनाउछौं भन्ने सोचेको होला ! तर हामी हैन, यो आगोमा एमाले र काँग्रेस जलेर खरानी हुनेछन् ।’, अध्यक्ष लिङदेनले भने ।
लिङदेनले गुन्डागर्दी शैलीमा प्रदेशको नामकरण गरेको आरोप लगाए । उनले भने, ‘कम्तिमा हामीले थाहा पाउनु पर्यो नि त ! सांसदहरूले भोट गरेको हामीले पनि देख्नुपर्यो नि त ! पत्रकारलाई समेत जान दिइएन । त्यो सभामुख, प्रदेश प्रमुख र सांसदहरूको टाउको फुट्छ अब !’
यस्तै बिरोध सभालाई सम्बन्ध गर्ने क्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले आन्दोलनको सुरुवात नभई आन्दोलनको घोषणा मात्रै भएको बताएका छन् । ‘अब यो आन्दोलन विराटनगरको यो कार्यलयको अगाडी रहँदैन,अब यो आन्दोलनलाई देशको गाउँगाउँ वडावडामा पुर्याउने छौं । हामीले बारम्बार भनेका थियौं , प्रदेश १ को विकास र शान्ति स्थापनाका लागि यहाँको जनताको चाहनाअनुसार प्रदेशको नाम लिम्बुवान किरात घोषणा गरियोस् भनेका थियौं, तर भएन । अब हामी यसलाई स्थापित गर्नका लागि घरघरबाट, दैलोदैलोबाट उठाउने छौं ।’,अध्यक्ष येक्तेनले चेतावनी दिए ।
चोर फटाहले मात्रै ढोका थुनेर काम गर्ने भन्दै सोही तरिकाले प्रदेश १ का सांसदहरूले कर्फ्यु लगाएर बदमासीपूर्ण ढंगले प्रदेशको नामकरण गरेको अध्यक्ष येक्तेनले आरोप लगाए । यस्तो नाम जनताले स्वीकार नगर्ने उनले बताए । उनले भने, ‘यहाँ हिजो आम जनताले दियो बाल्नुपर्थ्यो । तर यहाँका जनतालाई ढोका बन्द गरेर , मिडियाको तार बन्द गरेर आदेशमा घोषणा गरिएको नाम कदापि जिवित हुँदैन, चाँडै मर्छ ।
उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद , कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका थिए । अहिले मुख्यमन्त्री कार्यलय परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।