काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश १ मा आलोपालोका आधारमा मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
दुई दलबीच भएको सहमतिअनुसार पहिलो चरणमा नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने छन् । त्यसैगरी साढे दुई वर्षपछि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बो ‘मौसम’ मुख्यमन्त्री बन्ने सहमति भएको छ ।
माओवादी प्रदेश १ का एक शीर्ष नेताका अनुसार एमाले र माओवादीबीच लिखित सम्झौता भएको छ । ती नेताले भने– ‘मुख्यमन्त्रीको सन्दर्भमा एमालेसँग लिखित सम्झौता भएको छ । सम्झौताअनुसार हिक्मत कमरेड पहिलो कार्यकाल र मौसम कमरेड दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्नुहुनेछ ।’
गठबन्धनको सबैभन्दा ठूलो दल एमाले र माओवादीबीच सहमति जुटेसँगै आजै प्रदेश १ मा दुई वा दुई भन्दा बढी दलको समर्थमान एमालेका हिक्मत कार्कीले मुख्यमन्त्री दाबी गर्दैछन् ।