November 3, 2024, Sunday
२०८१ कार्तिक १८
1:37:26 pm

प्रदेश १ मा जसपाकी निर्मला लिम्बु निर्णायक बन्ने, मन्त्री पाउने सम्भावना

8.6K

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ एउटा पनि सिट नजितेको जसपाले समानुपातिकबाट एउटा सिट पाएकोमा छ । उक्त सिटमा निर्मला लिम्बू चयन हुने पक्कापक्की भइसकेको छ ।

नयाँ प्रदेश सरकार निर्माणमा जसपाकी एक्ली सांसद निर्मला लिम्बु निर्णायक बन्ने देखिएको छ । अहिलेसम्मको अवस्थामा उनी जता उभिने हो, उतैतिरको गठबन्धनलाई बहुमत पुग्ने देखिएको हुँदा १ नम्बर प्रदेशमा जसपा नर्णायक अवस्थामा रहेको देखिएको हो ।

९३ सदस्यीय प्रदेश सभामा ४७ जनाले बहुमत पुग्ने अवस्था छ । जसमा एमालेबाट ४० जना सांसद छन् भने राप्रपाका ६ जनाको साथ एमालेलाई रहने हो भने उसलाई बहुमत पु¥याउन अझै एक सिट पुग्दैन । त्यसैगरी सत्ता गठबन्धनलाई पनि बुहमत पु¥याउन १ सिट कै आवश्यक छ । काँग्रेससँग २९ सिट रहेको प्रदेशमा माओवादीसँग १३ र एकीकृत समाजवादीसँग ४ सिट छ । यसरी सत्ता गठबन्धनलाई पनि बहुमत पु¥याउन जसपाको साथ अनिवार्य छ । राप्रपाले भने अहिलेसम्म आफू सत्तामा जान नहतारिने बताउँदै आएको छ । उसको समर्थन प्रदेशमा एमालेलाई हुने सम्भावना भने बलियो छ ।

Advertisement

ताप्लेजुङकी निर्मलाले मन्त्री पाउने सम्भावना पनि देखिन्छ । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन गरे पनि वा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरे पनि जसपाले सरकारमा हिस्सेदारी पाउने निश्चित भएको हुँदा त्यो अवसरको फाइदा उनैलाई प्राप्त हुने पनि निश्चित छ ।

कस्को पक्षमा उभिने भन्ने प्रश्नमा उनी व्यक्तिगत नभई पार्टीको निर्णयलाई स्वीकार गर्ने बताउछिन् । उनको दलले भने प्रदेश र केन्द्रमा सत्ता गठबन्धनलाई सहयोग गर्ने कि एमालेलाई भन्ने टुंगो अझै लगाएको छैन ।

निर्मलाले विद्यार्थी जीवनकालदेखि नै कुमार लिङ्देन नेतृत्वको लिम्बूवानबाट राजनीतिक यात्रा सुरु गरेकी हुन् । अहिले उनी जसपाको पोलिटब्यूरो सदस्य र प्रदेश सहइन्चार्जको जिम्मेवारीमा छिन् । अशोक राई, रकम चेम्जोङ, अजम्बर काङमाङहरूले एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी बनाएपछि निर्मला पनि सो पार्टीको संस्थापकमध्येकै एक थिइन् । एकता प्रक्रिया हुँदै अहिले उनी जसपाको जिम्मेवारीमा आइपुगेकी हुन् ।