March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

चुनाव जितेपछि गृह क्षेत्र पुगेका जवेगुलाई भव्य स्वागत

1.5K

पाँचथर । पाँचथर प्रदेश सभा १ निर्वाचन क्षेत्र १ बाट चुनाव जितेसँगै आफ्नो गृह क्षेत्र पुगेका कमलप्रसाद जवेगुलाई स्थानीयहरुले भव्य स्वागत गरेका छन् । शनिबार आफ्नो गृहक्षेत्र पाँचथरको फालेलुङ १ पुगेका जवेगुलाई स्थानीय समुदाय संघसंस्थाको तर्फबाट भव्य स्वागत तथा सम्मान गरेका थिए ।

फिदिम बजारबाट बिहान ११ वजे प्रस्थान गरेका जवेगु हिलीहाङ ६ र ७ सहित फालेलुङ १ का विभिन्न स्थानमा स्वतस्फूर्त रुपमा आयोजना गरिएका कार्यक्रमहरुमा सहभागि हुँदै बेलुका ४ बजे गृह क्षेत्र फालेलुङ १ खुँगा पुगेका थिए । स्थानीयहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको विभिन्न कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य जवेगुले सम्बोधन गर्दै सम्पूर्ण मतदाताहरु र गठबन्धनमा सहभागी राजनैतिक दललाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु सहित गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तथा जिल्ला उपाध्यक्ष प्रेमप्रसाद रिजाल , नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य गणेश थाम्सुहाङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सीता थेवे र राज्य समिति सदस्य टिका नेम्बाङ र फालेलुङ गाउँपालिकाका अध्यक्ष विरविक्रम थाम्सुहाङ लगायतले शुभकामनासहित सफल कार्यकालको शुभकामना दिएका थिए ।

Advertisement

नेकपा एकीकृत समाजवादीको तर्फबाट बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका जबेगुले नेकपा एमालेका राजकुमार भण्डारीलाई ६ सय ३३ मतले पराजित गरेका हुन् । जबेगुले १६ हजार ८ सय ३७ मत र निकटतम प्रतिद्वन्द्वी भण्डारीले १६ हजार २ सय ४ मत ल्याएका थिए ।