November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काँग्रेसका उम्मेदवार प्रदीप कुमार सुनुवारलाई निर्वाचनमा सहयोग नगर्न शेर्पा संघको आह्वान

२०७९ कार्तिक २८

3.7K

काठमाडौं । ‘शेर्पा समुदायका उम्मेदवारलाई निर्वाचनमा पराजित गर्नुपर्छ’ भन्ने आशयसहितको टेलिफोन संवाद सार्वजनिक भएको प्रति नेपाल शेर्पा संघ र सिंगो शेर्पा समुदायको गम्भिर ध्यानाकर्षण गरेको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै ओखलढुंगाबाट प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप कुमार सुनुवारले आफ्नो पदीय हैसियतलाई चटक्क भुलेर शेर्पालाई अघि बढ्न दिनु हुँदैन, हराउनुपर्छ भन्ने जस्ता तुच्छ शब्द कुत्सित मानसिकता र शेर्पा समुदायलाई राजनैतिक नेतृत्वका लागि रोक्ने दुष्प्रयासप्रति सिंगो शेर्पा समुदायको घोर निन्दा रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा एक जना जिम्मेवार व्यक्तिबाट दिइने गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले जातीय तथा सामाजिक सद्भाव, भाइचाराको नातामात्रै नभएर धार्मिक सहिष्णुतामा समेत खलल पुग्ने उल्लेख छ । मुलुकको हरेक राजनैतिक परिवर्तन, सामाजिक आन्दोलनमा शेर्पा समुदायको विशिष्ट योगदान र पर्यटन प्रबर्द्धन, आर्थिक स्रोत वृद्धि गरी राज्यलाई समृद्ध बनाउने यात्रामा पनि विशेष भूमिका रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सोझा, इमान्दार र कर्मठ जातिको रुपमा परिचय बनाएका शेर्पा समुदाय पछिल्लो समय आर्थिक रुपमा सवल र राजनैतिक रुपमा समेत अब्बल बन्दै राज्यको नीति निर्माण तहमा आफ्नो सम्मानजनक उपस्थितीका लागि निरन्तर अघि बढीरहेको छ । यसलाई कसैको कुत्सित मानसिकता र द्वैशपूर्ण अभिव्यक्तिले रोक्न छेक्न सक्दैन ।’

Advertisement

नेपाल शेर्पा संघ, ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाले यस्तो घृणित अभिव्यक्तिले समाजलाई विभाजन, खण्डित गर्ने कार्यलाई प्रोत्साहन बताउदै त्यसखाले घृणित अभिव्यक्ति दिने उम्मेदवार, व्यक्तिको कडा रुपमा प्रतिवाद गर्दै विद्वेष पैदा गर्ने खाले व्यक्ति दिनेलाई आसन्न निर्वाचनमा सहयोग नगर्न शेर्पा तथा राष्ट्रिय एकता पक्षधरहरुलाई आह्वान गरेको छ ।