November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित प्रहरी कार्यालय भवनको उद्घाटन

1.6K

मोरङ । ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाताभित्र मंगलबार बिहान भएको एक विशेष कार्यक्रमका बीच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले विधिवत रुपमा समुद्घाटन गरेका हुन् ।

भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवार रहेको प्रहरी सुरक्षित भयो भने मात्र सयौं नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैमा असुरक्षित रहेमा आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन नसक्ने हुँदा प्रहरीको गाँस वास र कपासमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले २४ सै घण्टा ड्युटीमा रहनुपर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिने बताए । साथै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै जोश र उर्जाका साथ नागरिकहरुको जिउधनको सुरक्षामा खटिन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।
नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट बिनियोजित रकम २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा साँढे २ तले कार्यालय भवन निर्माण सम्पन भएको हो ।

उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।