काठमाडौं : प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ। सभामुख प्रदिप कुमार भण्डारीले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन्। तर आजको बैठकमा पनि प्रदेशको नामकरणको विषयले प्रवेश नपाउने भएको छ।
नामकरण नटुङ्गिँदा प्रदेश १ मा यो विषय थप पेचिलो बन्दै गएको छ। दलहरुबीच सहमति नबन्दा नामकरणको विषयले बैठकमा प्रवेश नपाएको प्रदेशसभा उपसचिव चन्द्रमणि पोखरेलले जानकारी दिए। उनले आजको बैठकको कार्यसूचीमा नामकरणको विषय नरहेको बताए।
नामकरणबारे सभामुख भण्डारीले अस्ति शुक्रबार बोलाएको भएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको थियो। बैठकमा दलहरु केही सकारात्मक बन्दै नामकरणको बारेमा सहमतिका लागि थप छलफललाई निरन्तरता दिने सहमति गरेको थियो।
प्रदेश १ को नाम पहिचानको आधारमा गर्न पहिचान बादी संगठनहरुले राजधानी काठमाडौं सहित विराटनगरमा प्रदर्शन गरिरहेका छन्।
प्रदेशसभाको आजको बैठकमा सञ्चार विधेयक, प्रज्ञाप्रतिष्ठान विधेयक र केही वार्षिक प्रतिवेदन माथि छलफल हुने सम्भावित कार्यसूची रहेको उपसचिव पोखरेलले बताए।
