January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

नेपाली काँग्रेसको प्रदेश अधिवेशन आजदेखि सुरु, सातै प्रदेशको अधिवेशनलाई सभापति देउवाले सम्बोधन गर्ने

500

काठमाडौं । नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनका लागि आजबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । निर्वाचन शनिबार हुनेछ ।

केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाई सकेको छ । समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

Advertisement

काँग्रेसको प्रदेश अधिवेशन प्रदेश १ को विराटनगरमा हुनेछ भने २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ । त्यसका लागि यसअघि नै केन्द्रीय नेताहरुलाई जिम्मेवारी प्रदान गरिसकेको छ ।

काँग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको विराटनगरमा अधिवेशन हुनेछ । काँग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश १ का लागि प्रदेश अधिवेशनसँग सम्बन्धित समिति गठन गरेको छ ।

अधिवेशनको उद्घाटनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा बागमती प्रदेशको हेटौँडा पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ देउवाबाट सम्बोधन हुने कार्यक्रम रहेको छ ।

यस्तै देउवाले सातै प्रदेशको अधिवेशनलाई भर्जुअल माध्यमबाट सम्बोधन गर्ने पनि बताइएको छ ।