January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

युवालाई पलायन हुन नदिन जैविक कृषि र व्यवहारिक शिक्षा लागू गरिनुपर्छ : खापुङ

545

खोटाङ : प्रदेश १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यावहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताएका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम् ट्रेडिङ सेन्टर तथा जैविक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे शुक्रबार शुभारम्भ गर्दै उनले जैविक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्नसके देशका नौजवान रोजगारीका लागि अरब जान नपर्ने बताएका हुन्।

फाउण्डेसनले सञ्चालन गरेको वैकल्पिक शिक्षा अभियान देशको भविष्यका साथै जनताको सुख, शान्ति र समृद्धि र रोजगारीसँग पनि गाँसिएको प्रदेश प्रमुख खापुङले बताए। विश्वव्यापीकरणका कारण आगामी केही वर्षभित्र हाम्रै देशका नागरिक पनि  अमेरिका, अष्ट्रेलिया, लण्डनजस्ता मुलुक घुम्न जानु रुचिको विषय हुनसक्ने पनि हुने उनको भनाइ थियो ।

Advertisement

‘हामीले प्रयास गर्‍यौँ भने अहिलेको जस्तो बाध्यात्मक अवस्था अन्त्य हुन्छ,’ प्रदेश प्रमुख खापुङले भने, ‘यो अभ्यास शुभम् फाउण्डेशनले सुरु गरेको छ । आगामी दिन यसको अनुशरण सबैले गर्नुपर्छ।’

व्यवहारिक शिक्षा लागू गरिएको शुभम् फाउण्डेशन घुम्न आउने पर्यटकका लागि नजिकै रहेको पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याइएको हो। होमस्टे र टेण्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक एवं कृषिविज्ञ मदन राईले बताए। फाउण्डेशनले विभिन्न जिल्लाका असहाय तथा गरिब बालबालिकालाई जम्मा गरेर व्यवहारिक शिक्षा दिँदै आएको छ। कुटोकोदालोदेखि कम्प्युटरसम्मको शिक्षा दिँदै आएको फाउण्डेशनमा विभिन्न ५२ जिल्लाका २०० जना विद्यार्थी अध्ययनरत छन्।