December 4, 2021, Saturday
२०७८ मंसिर १८
1:37:26 pm

कांग्रेस प्रदेश १ अधिवेशन : एक करोड खर्च हुने, प्रतिनिधिसहित दुई हजार सहभागी हुने

325

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को महाधिवेशनको तयारी थालिएको छ । यस विषयमा अधिवेशन आयोजक समितिका संयोजक कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक भएको छ ।

बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपाली कांग्रेस प्रदेश नम्बर १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नम्बर २ शंकरपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घान हुने र यसान १७ सय प्रतिनिधिसहित दुई हजार जना सहभागी हुनेछन् ।
अधिवेशनको उद्घाटन मंसिर १६ गते बिहीवार विराटनगरमा हुने बताउँदै संयोजक कोइरालाले भने,“संघीयतासंगै अब कांग्रेस राजनीतिको नयाँ अभ्यासमा जानेछ । हामीले अधिवेशनको तयारी थालिसकेका छौं ।” अधिवेशन सम्पन्न गर्न आवासलगायत सबै व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरड जिल्ला समितिको रहने कोइरालाले बताए ।

Advertisement

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दारले ७ सयजना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरुका साथै भातृ संस्था र सुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता छन् ।