May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने

4K

विराटनगर । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रालयले अघिल्लो सरकारले अगाडि सारेका राम्रा योजनालाई निरन्तरता दिँदै चालु आर्थिक वर्षको बजेट पुनरावलोकन गर्ने तयारी गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बिहीबार मन्त्रालयमा पत्रकार भेटघाट गरी सरकारले मंसिरभित्रै बजेट पुनरावलोकन गरी पुसबाट कार्यान्वयन गर्ने जानकारी दिएका हुन् । पूर्व मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले सुरु गरेका राम्रा योजनाहरुलाई निरन्तरता दिने मन्त्री आङ्बोको भनाइ थियो ।

सरकारको प्राथमिकताका योजनाहरुलाई मन्त्रिपरिषदले समावेश गर्न सक्ने र बजेटका कतिपय विषय थपघट गर्न आर्थिक कार्यविधि ऐन २०७४ ले अधिकार दिएकोले बजेट पुनसर््थापना विधेयक जरुरी नहुने उनले बताए ।

Advertisement

चालु आर्थिक वर्षको बजेटमा अनुत्पादक क्षेत्रमा विनियोजन भएका, व्यक्तिगत स्वार्थ केन्द्रीत, निर्वाचन लक्षित, बिचौलिया र कार्यकर्ता केन्द्रीत हुने गरी अगाडि सारिएका योजनाहरु कटौती गरी सरकारका प्राथमिकतामा रहने योजनाहरु थप गरिने उनको भनाइ छ ।

प्रदेश सरकार मातहतमा रहेका १४ वटा अस्पतालहरुको गुणस्तर सुधार गरी स्वास्थ्य सेवा प्रवाह गर्ने र प्रदेशका १३७ पालिकामै प्राविधिक शिक्षासहितको नमुना विद्यालय स्थापना गर्ने विषय सरकारको प्राथमिकतामा हुने उनले जानकारी दिए ।

मनमोहन विश्वविद्यालय अतिराजनीतिकरणको चपेटामा परेकोले ऐन संशोधन गरी त्यसलाई सबैले अपनत्व लिनसक्ने गरी सञ्चालन गर्ने वातावरण बनाउने विषय पनि सरकारको प्राथमिकतामा रहने बताइएको छ । विगत सरकारले अगाडि बढाएको कतिपय पूर्वाधार निर्माणका योजना अघिल्लो सरकारले रोकेकोले त्यसलाई निरन्तरता दिने र सम्पन्न गर्ने गरी अगाडि बढाउने मन्त्री आङ्बोले बताए ।

अघिल्लो सरकारले एक सय र ५० बेडको अस्पतालहरु निर्माण गर्ने भन्दै उद्घाटनसमेत गरिसकेको तर बजेट अभावमा काम सुरुवात हुने कुनै सम्भावना नरहेकोले त्यसलाई निरन्तरता नदिने सरकारको योजना छ । त्यसको साटो प्रदेश सरकार मातहतमा रहेको १४ अस्पतालहरुलाई स्तरोन्नति गर्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने तर्फ सरकारले ध्यान दिने छ ।