January 15, 2025, Wednesday
२०८१ माघ २
1:37:26 pm

प्रदेशसभा बैठक आज : मुख्यमन्त्रीले विश्वासको मत लिंदै

२०७८ कार्तिक ३०

2.1K

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनेछन् ।

आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताए । सोमबार सत्तारुढ पाँच दलिय गठबन्धनको बैठक बसेको थियो । बैठकले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक सम्यन्त्र बनाएको थियो ।

बैठकले कांग्रेस सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदल पनि गठन गरेको थियो । बैठकले गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र राईको पक्षमा मतदान गर्ने निर्णय गरेको उनले बताए ।

Advertisement

सरकारमा सहभागी पाँच दलीय गठबन्धनमा ५० सांसद छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग ४० र राप्रपासँग एक सांसद छन् ।