विराटनगर : नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका छन्।
शनिबार विराटनगरमा एकीकृत समाजवादीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता राईले सांसदहरू सिद्धान्तमा अडिग रहेकाले गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका हुन्। नेकपा एमालेले सरकार टिकाउन सांसद किन्न विभिन्न प्रयास गरेको पनि उनको आरोप लगाए।
‘सरकारमा बस्नेहरूले आफू जस्तै पैसामा मानिसलाई किन्न सकिन्छ कि भनेर कोसिस गर्दा पनि सिद्धान्तमा अडिग रहेका ५० जना सांसद हल्लिएका छैनन्’‚ उनले भने, ‘त्यसो भएका हुनाले हाम्रो सरकार बन्ने निश्चित छ।’
उनले दल विभाजन भएको तीस दिनभित्र साविक सरकारले विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले सम्पत्ति हस्तान्तरण गरे जस्तो भीम आचार्यलाई सरकार हस्तान्तरण गर्दै संविधान मिचेको आरोप लगाए।
‘असोज ८ गतेभित्र विश्वासको मत लिनुपर्नेमा साविक सरकारले पटकपटक समय सार्दै संविधान मिच्दै यो ठाउँमा आइसकेको छ’‚ उनले भने, ‘तैपनि हाम्रो संख्या घटेको छैन‚ तपाईंहरू ढुक्क हुनुहोस् अब छिटै हाम्रो नेतृत्वको सरकार बन्छ।’
केन्द्रमा छलफल हुँदा बागमती प्रदेश र १ नम्बर प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने निर्णय भएको बताउँदै उनले कात्तिक ७ गते कांग्रेसको निवेदनका कारण रोकिएको संसद् बैठक कांग्रेस गठबन्धनमै रहनलाई रहेको स्पष्ट पारे। उनले कांग्रेसको आन्तरिक छलफल टुङ्गो लागिसकेको पनि बताए।
कात्तिक १५ गते चल्ने संसद्मा मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसमा आवश्यक मत नपुग्ने उनले दाबी गरे। उनले भने‚ ‘१६ गते हाम्रो नेतृत्वमा सरकार बन्नेछ।’
