November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बिपी प्रतिष्ठानमा काम ठप्प, कर्मचारी र चिकित्सक फेरि आन्दोलनमा

2.3K

विराटनगर : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी र कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएका छन्।

स्वास्थ्य मन्त्रालयले गरेको ६ बुँदे सहमति र उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरेको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा पारेको हो। उनीहरू आज आकस्मिक सेवा, कोभिड उपचार र परीक्षाबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएका  हुन्।

संघर्ष समितिका संयोजक डा. रिमालले पत्रकार सम्मेलनमा सरकारले प्रतिवेदन र सहमति कार्यान्वयन नगरेकाले काम छाडेर आन्दोलन गर्न बाध्य भएको बताए।

Advertisement

उनले भने, ‘८३ दिनदेखि आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारी आज आइतबारदेखि सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका हौं, यद्यपी आपदकालीन सेवा भने रोकेका छैनौं।’

प्रतिष्ठानमा असार १ देखि संयुक्त संघर्ष समितिले शुद्धीकरण आन्दोलन गरिरहेको छ।

अनियमितता, बेथिति बढेको भन्दै उनीहरूले पदाधिकारीको राजीनामा र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै करिब ८३ दिनदेखि आन्दोलन गरिरहेका छन्।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले प्रतिवेदन बुझाएको एक महिना बितिसकेको छ। आन्दोलनकर्मीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको पनि १ महिना पूरा भएको छ।

तर, कार्यदलको प्रतिवेदनले दोषी औल्याएका पदाधिकारीलाई सरकारले कारबाही गर्न चासो नदेखाएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियानका संयोजक डा. रिमालले जानकारी दिए।