April 16, 2024, Tuesday
२०८१ बैशाख ४
1:37:26 pm

कोभिड अस्पतालमा वृद्धको मृत्यु, मृत्युपछि रिपोर्ट नेगेटिभ भएको खुलासा

2.3K

झापा : भद्रपुरस्थित मेची कोभिड उपचार केन्द्रमा उपचाररत सङ्क्रमितको मृत्यु हुनु घटना नौलो होइन। तर, संक्रमण पुष्टि नभएका बिरामीलाई कोभिड उपचार केन्द्रमा भर्ना गर्नु र बिरामीको उपचारको क्रममा त्यही मृत्यु हुनु एउटा घटनाले तरङ्ग ल्याएको छ। घटना हो, सोमबार बिहानको। 

मेची कोभिड उपचार केन्द्रमा बुद्धशान्ति गाउँपालिका-२ निवासी ७७ वर्षीय वृद्ध तेजबहादुर लिम्बू र पाँचथरको फिदिम निवासी ३१ वर्षीया महिलाको सङ्क्रमणबाट मृत्यु भयो। मेचीमा एकै दिन दुई सङ्क्रमितको मृत्यु भएको खबर अस्पताल प्रशासनले पुष्टि गरेपछि समाचार सञ्चारमाध्यमबाट बाहिर आयो। त्यसपछि दुवै सङ्क्रमितको शव व्यवस्थापनका लागि श्री नयाँ श्रीनाथ गण चारआलीको शव व्यवस्थापन टिम कोभिड उपचार केन्द्र आइपुग्यो। 

त्यसअघि वडा प्रहरी कार्यालय भद्रपुरको टोली पनि खटिसकेको थियो। सेना दुवै सङ्क्रमितको शव व्यवस्थापनको लागि तयारीमा जुटे। सेनाले शव व्यवस्थापनको तयारी गरिरहेको बेला बुद्धशान्ति गाउँपालिकाका-७७ वर्षीय वृद्ध तेजबहादुर लिम्बूको कोरोना सङ्क्रमणबाट मृत्यु नभएको खबर बाहिर आयो। 

Advertisement

कोभिड उपचार केन्द्रमा मृत्यु भएका व्यक्तिको संक्रमणको कारणले मृत्यु नभएको खबर सुनेपछि घटनास्थलमा रहेका श्री नयाँ श्रीनाथ गण चाराआली कर्णेल अमर जङ्ग थापा र वडाका प्रहरी निरीक्षक दलकुमार राई अचम्मित हुँदै अस्पतालको प्रशासन पक्ष र गाउँपालिकाका जनप्रतिनिधिसँग घटनाको विषयमा फोनमार्फत बुझ्न थाले। सम्बन्धित निकायले पनि वृद्ध लिम्बूको पिसिआर रिपोर्ट नेगेटिभ थियो भन्ने खबर उनीहरूलाई गरायो। 

त्यति जानकारी पाइसकेपछि कोभिड उपचार केन्द्रभित्रै वृद्धको मृत्यु भएका कारणले सेनाको शव व्यवस्थापन टिमले दुवै शवलाई उपचार केन्द्रबाट बाहिर निकाले। त्यसपछि वृद्धको शवलाई गाउँपालिकाले पठाएको निजी भ्यानमा राखेर घरतर्फ पठाइदिए। परिवारजनले पनि पिपिई लगाएर वृद्ध बुबाको धार्मिक परम्पराअनुसार सोमबार बेलुका दाहसंस्कार गरेका उनको छोरा दिलीपले जानकारी गराए।  

यस्तो भन्छ अस्पताल प्रशासन 

मेची अस्पतालका मेसु डा पीताम्बर ठाकुरले बुद्धशान्तिको गाउँपालिकाको आइसोलेसनका चिकित्सकले बिरामीलाई संक्रमित भन्दै रेफर गराएकोले कोभिड उपचार केन्द्रमा भर्ना गराएको बताए।

बिरामीको श्वासप्रश्वासमा समस्या देखिएकोले पालिकाको आइसोलेसनमा त्यहाँ अक्सिजन नहुँदा तत्काल बिरामीलाई मेची कोभिड उपचारमा पठाएको उनले बताए। मेसु ठाकुरले भने, ‘पिसिआर रिपोर्ट नेगेटिभ वा पोजेटिभको प्रतीक्षा अस्पतालले गर्दैन, पहिला बिरामीको ज्यान बचाउनेमा चिकित्सक र अस्पताल प्रशासन लाग्छन्, बिरामीको अवस्था पनि कोरोना शंकास्पद जस्तो देखिएको थियो, संक्रमण पुष्टि भएकै हो भनेर हामीले उपचार गराएको हो, यसमा अस्पताल प्रशासन पक्षको केही दोष छैन,’ उनले भने। 

‘बिरामीको स्वास्थ्य अवस्था झन् जटिल बनेपछि उहाँलाई एक दिनअघि नै हामीले यहाँबाट रेफर गर्न खोजेका थियौँ, तर आफन्तजनले एम्बुलेन्समा हालेको बिरामीलाई फेरि लगेर बेडमा लगेर राखे र बिहान उहाँको मृत्यु भयो,’ उनले भने।

रिपोर्ट नेगेटिभ भएको सुरुमै थाहा पाएको भए उहाँलाई अस्पतालको आइसियुमा राखेर उपचार गराउन मिल्ने  ठाकुर बताउँछन्। भने, ‘तर पिसिआर रिपोर्ट सेनाले शव व्यवस्थापनका दिन  खोज्दा मात्र नेगेटिभ भन्ने घटना बाहिरियो।’

यस्ता यस्तै समस्याबाट बिरामीलाई बचाउनु छ भने अस्पतालमा बिरामीलाई भर्ना गर्नु बेलामै पिसिआरको रिपोर्ट पनि सँगै ल्याइदिन सबैलाई उनले अपिलसमेत गरे।