June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

च्यातिएको पिपिईमा टेप टाँसेर संक्रमितको उपचार

175

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालभित्र सञ्चालनमा आएको कोभिड उपचार युनिटमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूले गुणस्तरहिन पिपिइ लगाएर संक्रमितको उपचार गर्नुपरेको गुनासो गरेका छन् ।

फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको उपचार गर्दै आएका कोभिड अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई दिएको पिपिइ च्यातिएको पाइएको छ ।

बिहीबारदेखि सञ्चालनमा आएको ६२ शय्याको कोभिड अस्पतालको भेन्टिसहितको आइसियू र एचडियूको शय्या संक्रमितले भरिएका छन् । अहिले १६ जना चिकित्सक र स्वास्थ्यकर्मी सिफ्ट मिलाएर कोरोना संक्रमितको उपचारमा खटिएका छन् ।

फ्रन्टलाइनमा रहेर संक्रमितको उपचारमा खटिने चिकित्सकलाई अस्पतालले दिएको पिपिए च्यादिएको रहेको कोभिड १९ युनिटमा विरामीको उपचारमा खटिएका एक चिकित्सकले बताए । ‘आफ्नो ज्यान जोखिममा राखेर फ्रन्टलाइनमा रहेर कोरोना संक्रमितको चिकित्सकको उपचार गर्दै आएका छौं’ उनले भने, ‘तर, हामीलाई अस्पतालले दिएको पिपइ गुणस्तरहिन छ, कसरी काम गर्नु ?’

च्यातिएको पिपिइ लगाएर संक्रमिको उपचारमा खटिँदा संक्रमण सर्ने खतरा हुन्छ । उनीहरुले सुरक्षाकवच पिपिइ गुणस्तरीय दिनुपर्ने माग गरेका छन् । तर, अहिलेसम्म कुनै सुनवाई गरेको छैन ।

राम्रो पिपिई नपाए पनि विरामीको ज्यान बचाउन च्यातिएको पिपिइमा टेप टाँसेर उपचार गर्दै आएको ती चिकित्सकले बताए । कोशी भित्रको कोभिड अस्पतालमा संक्रमितको उपचार गर्ने चार टिम बनेको छ । चार जनाको दरले चार सिफ्टमा मेडिकल कन्सल्टेन्ट चिकित्सकसहतिका स्वास्थ्यकर्मी खटिएका छन् ।

अस्पतालका सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले अहिले आएको पिपिए सहयोगमा आएकोले उपचारमा खटिने चिकित्सकलाई दिएको बताउँदै अस्पतालले पिपिई खरिद गर्न प्रक्रिया अगाडि बढाएकोले केही दिनभित्रमा गुणस्तरीय पिपिई आउने जानकारी दिएका छन् ।

कोशीभित्र ५ शय्याको भेन्टिलेटरसहित आइसियू, २५ वटा एचडीयू, ३२ वटा अक्सिजनसहितको जनरल बेड रहेको कोभिड १९ युनिट सञ्चालनमा आएको छ ।