May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

प्रत्येक प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउँदै सरकार

310

सरकारले प्रत्येक प्रदेशमा एक हजार क्षमताको दरले होल्डिङ सेन्टर बनाउने निर्णय गरेको छ। पछिल्लो समय कोरोना संक्रमण तीब्र बढेको भन्दै भारतसँग जोडिएका सीमामा होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। ‘सातै प्रदेशमा होल्डिङ सेन्टर बनाउन लागेका छौं अहिलेलाई कुल आठ हजार क्षमताको हुन्छ,’ उनले भने।

गौतमका अनुसार हरेक प्रदेशमा एक-एक हजारको दरले र काठमाडौंमा छुट्टै एक हजार क्षमताको होल्डिङ सेन्टर रहनेछ। उनले सेन्टर निर्माण गर्नेबारे निर्णय भइसकेकाले अब चाँडै नै तयार हुने दाबी गरे।

उनका अनुसार प्रदेशका होल्डिङ सेन्टर भारतीय सीमा नजिक हुनेछ। भारतबाट आएका मानिसहरूमा संक्रमण पोजेटिभ देखिए अब होल्डिङ सेन्टरमा राखिने मन्त्रालयले जनाएको छ। भारतबाट आएकामा कोरोना पोजेटिभ देखियो भने घरमा जान सक्दैनन्।

‘त्यस्ता मानिसहरूलाई होल्डिङ सेन्टरमा राख्ने हो,’ प्रवक्ता गौतमले भने। अब भारतबाट आउने मानिसहरूमा संक्रमण पोजेटिभ देखिएमा घर जाने अवस्था नरहने त्यस्ता मानिसहरूलाई कम्तिमा १० दिन होल्डिङ सेन्टरमा राखिने छ।

साथै क्वारेन्टिनमा राख्नुपर्ने मानिसहरूलाई भने होल्डिङ सेन्टरभित्रै संक्रमितसँग सम्पर्क नहुने गरी छुट्टै ठाउँ व्यवस्थापन गरिने गौतमले बताए। पछिल्लो समय भारतमा संक्रमण दर तीब्र फैलिएका कारण सरकारले सीमा नाकामा कडाइ गर्न लागेको हो।

गत चैत सुरु भएदेखि नै भारतदेखि आउनेहरूबाट थप जोखिम रहेपनि सरकारले त्यतिबेला नियन्त्रणमा कडाइ गरेको थिएन। अहिले भने दैनिक संक्रमण दर नै उच्च हुन थालेपछि सरकारले सीमामा कडाइ गर्न लागेको हो। यसअघि पनि संक्रमणको पहिलो लहरमा पनि भारतबाट अनियन्त्रित तरिकाले मानिसहरू स्वदेश फर्किएपछि संक्रमण ह्वात्तै बढेको हो।

यसपालि पनि भारतमा संक्रमण अवस्था भयवह भएको छ। यसर्थ भारतमा मजदुरी गर्न गएका लाखौं नेपालीहरू स्वदेश फर्किने क्रम बढ्दै जान्छ। जसले गर्दा संक्रमण जोखिम पनि बढ्दै जान्छ।

न्त्रालयका एक अधिकारी भारतबाट संक्रमण आउनै बाँकी रहेको बताउँछन्। उनले अहिले देखिरहेको संक्रमण भिडभाडका कारणले देखिएको भन्दै भारतबाट संक्रमण भित्रिन त बाँकी नै रहेको जनाए।

‘अहिलेको संक्रमण भारतबाट भित्रिएकै हैन। यो त यहींको भिडभाडले गर्दा भएको हो। भारतबाट संक्रमण भित्रिन त बाँकी नै छ,’ ती अधिकारीले भने, ‘यस्तै हो भने नेपालमा भारतभन्दा खराब स्थिति हुन्छ।’