May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

करोडौँका सिंचाइ आयोजना सम्पन्न : किसान हर्षित

640

विराटनगर । सुनसरी–मोरङ सिंचाइ आयोजनाअन्तर्गत चतरा मूल नहरको मोरङस्थित लोहन्द्रा खोलामा भत्किएको संरचना निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रका किसान हर्षित भएका छन् ।

तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किमी पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टि शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषक नहरका पानी खेतमा देख्न पाएका थिएनन् । यही वैशाख महिनाको अन्तिम साता पानी सञ्चालन हुने भनिएपछि त्यस क्षेत्रका कृषक हर्षित भएका हुन् ।

उक्त शाखा नहरका जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठ, शिवु थापा, देवीप्रसाद भण्डारी, भक्ति थापा र खड्गप्रसाद साहले भने, “नहर सञ्चालन हुने कुराले हामी हर्षित भएका छौँ, तर चार वर्षदेखि बन्द रहेका नहरमा अहिले घाँस, झार, दलकच्चु र माटोले पुरिएको अवस्था छ, खेतमा भरपूर पानी जान सक्ने अवस्था छैन, त्यसैले नहर सफा गर्नु अत्यन्त जरुरी छ ।” उनीहरुले बर्खे धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भर पर्नुपरेको थियो भन्दै अब नहरमा पानी आउने भएपछि हामी उत्पादनमा पूर्ववत अवस्थामा फर्किने बताए । गएको वर्षमा वर्षातका मौसममा राम्रै पानी परेकाले त्यति समस्या नभए पनि हिउँदमा लगाउने दलहन, तेलहन र गहुँबालीका लागि भोग्नुपर्ने समस्या अन्त्य हुने कुराले हामी निकै उत्साहित छौँ समितिका अध्यक्षहरुको भनाइ छ ।

पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सो संरचना निर्माणमा निकै चासो देखाएको छ । सिंचाइ विभागबाट पटकपटक निरीक्षण एवं अवलोकन हुँदै आएको सुनसरी–मोरङ सिंचाइ आयोजनाका प्रमुख भिलानन्द यादवले बताए । संरचना भत्किएको लोहन्द्रा खोलादेखि पूर्वतर्फ छवटा शाखा नहरबाट करिब १० हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पुग्ने गरेको थियो । सुनसरी–मोरङ सिंचाइ आयोजनाका प्रमुख यादवले कृषकले भोग्नुपरेको समस्यालाई निराकरण गर्न अहिले भत्किएको ठाउँमा नयाँ संरचना तयारी अवस्थामा छ र यसै महिनाको अन्तिम साता नहरमा पानी सञ्चालन गर्ने जानकारी दिए ।

संरचना निर्माण गर्न आयोजनाको रु ४५ करोड २५ लाख २६ हजारको लागतमा साइफन र दुई लेनको पुल निर्माणका लागि निकालिएको बोलपत्रमा आशिष÷स्वामीनारायण÷आशीर्वाद जेभी धरानले मूल्य अभिवृद्धि करसहित रु २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का कबोल गरी २०७६ फागुन ३० गते सम्भौता गरेर निर्माण सुरु गरे पनि कोरोना महामारीले गत वर्ष काम प्रभावित भएको थियो । पुल निर्माण गर्ने अवधि आगामी २०८० भदौ ३० सम्म रहेको छ भने नहरको संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने सम्झौता भएको थियो ।

नहरको पानी बग्न बनाइने साइफनको लम्बाइ २२७ मिटर, चौडाइ अढाइ मिटर र गहिराइ भित्री भागमात्र दुई मिटरको छ भने पुलको लम्बाइ १५५ मिटर र चौडाइ १० दशमलव ८५ मिटर रहेको छ । साइफनमा प्रतिसेकेण्ड आठ घनमिटर पानी बहाव हुने क्षमताको छ । साइफनको सबै काम चालु आवमा नै सम्पन्न हुने बताइएको छ । साइफनलाई वर्षातमा खोलामा आउने बाढीबाट जोगाउन थप काम गर्नुपर्ने आवश्यकता विभागमा जनाकारी गराइसकेको प्रमुख यादवले बताए ।