February 28, 2021, Sunday
२०७७ फाल्गुन १७
1:37:26 pm

प्रदेश १ : सत्ता पक्षले आजको प्रदेशसभा बैठक पनि अवरुद्ध गर्ने

नेपालमामिला संवाददाता
२०७७ फाल्गुन ९

210

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ । जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएको हो ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

आइतबार दिउँसो २ बजे आह्वान गरिएको बैठक पनि सञ्चालन गर्न नदिने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । ‘बैठक सञ्चालन गर्ने भए पार्टी दुई वटा हुनु पर्याे, होइन भने कारवाहीमा परेका १६ जनालाई प्रवेश गर्न दिन भएन,’ उनले भने, ‘बैठक सञ्चालन गर्न खोजिए हामी अवरुद्ध गर्छाैं ।’

दल विभाजनले आधिकारिता पाएपछि मात्रै बैठक सञ्चालन गर्न मिल्ने राजभण्डारीको भनाइ छ । ‘अहिले पनि हाम्रो संसदीय दलको नेता मुख्यमन्त्री शेरधन राई हो,’ उनले भने, ‘उहाँले १६ जनालाई कारवाही गर्नुभएको छ, कारवाहीमा परेकाले संसदमा प्रवेश पाउन दल विभाजन हुनुपर्छ ।’

ओली पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड-माधव समूहका १६ जना सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।