काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिएको बताएका छन् । बुधबार सामाजिक संजालमा स्टाटस लेख्दै पोखरेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएको बताएका हुन् ।
अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको उनले बताएका छन् । पछिल्लो समय देशको विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता र अराजकता गम्भीर चुनौती बनेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।
महासचिव पोखरेलले लेखेका छन्, ’राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’
मधेशका मुख्यमन्त्री यादवले मंगलबार मात्रै प्रदेशसभामा उपस्थित सबै सांसदबाट पुनः विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै शतप्रतिशत सांसदको विश्वासको मत पाएका उनले एमालेले समर्थन फिर्ता लिएपछि मंगलबार दोस्रोपटक विश्वासको मत लिएका हुन् ।