जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार समावेश भएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी बिहीबार वन तथा वातावरण मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यससँगै प्रदेश सरकारमा सत्ता गठबन्धनमा रहेका सबै दलको सहभागिता भएको छ । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डाको किचलो नसकिएकोले दुई मन्त्री र दुई राज्यमन्त्री जिम्मेवारीविहीन छन् भने गृह तथा सञ्चार र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री यादवसँगै छ ।
मुख्यमन्त्री यादवले मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास र वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्या तथा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका थिए ।
बिहीबार एक मन्त्री थपिएसँगै मन्त्रिपरिषद् तीन राज्यमन्त्रीसहित १४ सदस्यीय भएको छ ।