June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

रौतहटमा सूचना नदिएको भन्दै एक महिनादेखि अनसन

610

रौतहट । संवाद, सहअस्तित्व र सौहादर्ताको अभावमा सूचनाका लागि रौतहटको वृन्दावन नगरपालिका आगाडी सुरु भएको २४ घण्टे रिले अनसन बसेको एक महिना छ दिन पुगेको छ । अनसनकारीले माग गरे बमोजिमको १४ बुँदे सूचना उपलब्ध गराउन कार्यालयको तर्फबाट कुनै पहल नभएकोमा अनसनकारीले दुःख व्यक्त गरेका छन् ।

जनप्रतिनिधि तथा जनताहरुले मागेको सूचना दिन आलटाल गर्नुको साथै कार्यपालिका बैठकमा पनि नगर प्रमुख विनोद राउत कुर्मीले सन्तोषजनक जवाफ नदिएपछि रिले अनसन बसेको वडा नम्बर ४ का वडा अध्यक्ष श्याम प्रसाद यादवले बताए ।

वृन्दावन नगरपालिका कार्यालय आगाडी अनसन बसिरहेका जनप्रतिनिधिसँग आफुले भेटेर काम गर्ने वातावरण बनाईदिन अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेयले बताए ।

Advertisement

नगर प्रमुख पटेल तथा अनसनकारीबिच समझदारी हुने अवस्था नदेखेपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले दुबै पक्षलाई जनताको काममा सहजता प्रदान गर्न आग्रह गरेका छन् । यश अघिका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलउपर करोडौं भ्रष्टाचार गरेको तथा अनसनकारी लगायतका सरोकारवालासँग समन्वय नगरेको आरोप लागेपछि मन्त्रालयले अन्यत्र सरुवा गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेय वृन्दावन आउने पक्का पक्की भएपछि अनसनकारीले सूचना पाउछौं भन्नेमा ढुक्क भएका थिए । पाण्डेय हाजिर भएकै दिन अनसनकारीलाई भेटी सबै सूचना दिन्छु भनि प्रतिबद्धतासमेत गरेका थिए । तर बुधबारदेखि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलेसमेत कुरा फेर्न थालेपछि दुःख लागेको नेकपा एमालेका नेता तथा नगर प्रमुख पदका उमेदवार प्रेमशंकर यादवले बताए । ‘दुःखका साथ भन्नु परिरहेको छ, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आगाडी प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भनेको कुरा पनि फेर्नुभएको छ ।’, उनले भने ।

नगरपालिकाका पूर्व नगरप्रमुख रामसिनेही यादवले नगरप्रमुख कुर्मीमा नैतिकता नरहेको, आफूले जे बोल्दैछु त्यही सही हो, आफूलाई राजा ठान्ने स्वभाव भएको बताए । उनले थोरै समयमा करिब १० करोड भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।

नगरप्रमुख कुर्मिले भ्रष्टाचार गरेका व्यक्तिहरु आफूलाई चोखो बताउन ‘रिले अनसन’ बसेको आरोप लगाए । पाँच वर्ष नगरप्रमुख बस्दा १० औं पटक आफूले सूचना माग्दा उनीहरुले नदिएको बताए । उनले विकास गतिविधि प्रायः ठप्प भएको र कुनैपनि योजना कार्यको आदेश तथा समझौता गर्न नपाएको बताए ।

सूचना अधिकारीमार्फत सूचना लिएर पनि रिले अनसन जारी राखेकोमा दुःख व्यक्त गर्दै नगर प्रमुख कुर्मीले विकास निर्माण तथा नदीजन्य वस्तुको राजश्व संकलन हुने समयमा रिले अनसन गरेर विपक्षीले दुख दिने मनसाय मात्र रहेको बताए ।

चैत्र ७ गते देखि शुरु रिले अनसनको एक महिना नौ दिन पुगेको छ । वृुन्दावन नगरपालिका वडा नम्बर २, ३, ४ र ५ का गरी ४ जना वडा अध्यक्ष र नगर प्रमुख पदका तीनजना उम्मेदवार रिले अनसन बसिरहेका छन् ।