काठमाडौँ — प्रदेश २ को प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ । बैठकमा प्रदेश सरकारले ल्याएका दुईवटा अध्यादेश पेस हुने बताइएको छ ।
प्रदेश सरकारले हालै कृषि विश्वविद्यालय र प्राविधिक शिक्षा सम्बन्धी अध्यादेश ल्याएको थियो । ती अध्यादेश बुधबारको बैठकमा पेस हुने तयारी गरिएको हो । यस्तै प्रदेशसभाको नाम पनि प्रस्ताव गर्ने तयारी भएको छ ।
बैठकको तयारीको क्रममा प्रदेश संसद् सचिवालयले प्रदेश सांसदहरू बस्ने मेच र टेबुल परिवर्तन गरिएको छ । पहिलो दिनको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रबारे सभालाई जानकारी गराउने र दलका नेताहरूले अधिवेशनको शुभकामना, प्रदेशको नाम प्रस्ताव र राजधानीबारे छलफल हुने कार्यसूची रहेको प्रदेससभा सांसद सचिवालयका सचिव रंजित यादवले बताए ।
प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता पाएपछि पहिलोपटक आह्वान भएको अधिवेशनमा प्रदेशसभाबाट पारित विधेयकमा रहेका त्रुटीहरू संशोधन र प्रदेशको नाम तथा राजधानी टुंगो लगाउने सरकारले तयारी गरेको छ ।
प्रदेश २ को नामाकरण र राजधानीको हालसम्म टुंगो लाग्न सकेको छैन । प्रदेशसभामा नाम र राजधानीको प्रस्तावमा बहुमत प्राप्त नहुँदा प्रस्ताव असफल भएको थियो । प्रदेशसभाको छैठौं अधिवेशनमा दोश्रोपटक नाम र राजधानीको प्रस्ताव ल्याइएको थियो ।