May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

तास खेलिरहेको भिडियो बाहिरिएका सर्लाहीका तीनवटै सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

2.8K

काठमाडौं । सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित तीन सुरक्षा प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई जिम्मेवारीबाट हटाइएको हो ।

उनीहरूलाई एकै समयमा सरूवा गरी महतोलाई गृहमा तानिएको छ भने उनको सट्टामा गृहबाट बाबुराम खतिवडालाई पठाइएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्र पोखरेलले जानकारी दिए । त्यसैगरी गंगाराम श्रेष्ठको ठाउँमा प्रहरी उपरीक्षक भरत खनियाँलाई पठाइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको सट्टामा प्रदेश २ प्रहरी कार्यालय जनकपुरबाट कृष्ण प्रसाईलाई पठाएका छ ।

Advertisement

केही समय अघि सर्लाहीमा तीनवटै सुरक्षा प्रमुख तास खेलिरहेको भिडिओ बाहिरिएको थियो । त्यही कारण सरूवा भएको हुनुपर्ने स्रोत बताउँछन् ।

यद्यपि प्रवक्ता पोखरेलले आफूलाई सरूवा के कारणले गरिएको भन्नेबारे जानकारी नभएको बताए । तास खेलेको भिडिओबारे पनि आफूलाई थाहा नभएको बताए ।