जनकपुर । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गर्दै जनकपुरधाम नगर घुमाएका छन् । अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै आक्रोशित सिके राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई नगर परिक्रमा गराएका हुन् ।
लाठीसहित जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा पुगेका जनमत पार्टीका कार्यकर्ताहरुले यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए । कार्यकर्ताहरुले यादवको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रुपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।
यादवलाई नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेको थियो ।
जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।