June 14, 2025, Saturday
२०८२ असार १
1:37:26 pm

जसपा प्रदेश २ का अध्यक्ष यादव र मुख्य सचिव झाले दिए राजीनामा

4.1K

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादव र मुख्य सचिव शम्भु झाले पदबाट राजीनामा दिएका छन्।

यादवले पार्टीको एक व्यक्ति एक पद अवधारणाअन्तर्गत प्रदेश अध्यक्ष पदबाट आइतबार राजीनामा दिएका हुन्। यादव पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यसमेत छन्।

श्रोतका अनुसार प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री यादवले आइतवार नै पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएका हुन्। त्यसैगरी जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले मुख्यसचिव सहित पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

Advertisement

जसपा पार्टीमा काम गर्ने आफूमा योग्यता र क्षमता नभएकोले प्रदेश मुख्यसचिवलगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको झाले बताए। झाले भने, ‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले मैले जसपाको प्रदेश मुख्यसचिवलगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु।’

जसपाकाे मुख्यसचिव भएर पाँच वर्ष भन्दा बढी काम गरेको बताउँदै झाले आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताए। उनले आफू अन्य कुनै पनि पार्टीमा नजानेसमेत बताए।

प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला यादव र झाले राजीनामा दिएका हुन्। अध्यक्ष यादवले तत्कालिन राजपाबाट जसपामा आएकालाई समेत समायोजन गरी प्रदेश समिति आजै घोषणा गर्ने कार्यक्रम रहेको छ।