May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

नगरपालिकाले भ्रष्टाचार गरेको भन्दै स्थानीयले गरे भैसी प्रदर्शन

900

धनुषा । धनुषाको सबैला नगरपालिकाका जनप्रतिनिधिले भ्रष्टाचार गरेको भन्दै स्थानीयवासीले आइतबार भैंसी जुलुस प्रदर्शन गरेका छन् । उनिहरू लामो समयदेखि धर्नामा बस्दै आइरहेका छन् । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष समितिले विभिन्न शीर्षकमा सूचना माग्दै विगत १४ दिनदेखि अनसनलाई निरन्तरता दिँदै आएको हो ।

स्थानीयवासीले संघर्ष समितिको आन्दोलनलाई समर्थन गर्दै आइतबार नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भैंसी जुलुस निकालेका हुन् । विभिन्न सूचना माग गर्दा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत बलवीर ठाकुर, लेखा अधिकृत शिवकुमार झा र इन्जिनियर रञ्जित यादवसमेतकाले बेवास्ता गरेपछि स्थानीयवासीले भैंसी जुलुस निकालेर सांकेतिक रुपमा विरोध जनाएका हुन् ।

जुलुसमा सहभागीले नगरप्रमुख र कर्मचारीहरू विरुद्ध चर्को नाराबाजी समेत गरेका छन् । नगरप्रमुख र कर्मचारीको मिलेमतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको आशंकामा सूचना माग गरिएको तर सो सूचना उपलब्ध नगराएका कारण संयुक्त संघर्ष समितिले अनसन थालेको समितिका एक सदस्यले जानकारी दिए ।

Advertisement

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा सबैला नगरपालिकामा व्यापक आर्थिक अनियमितता भइ बेरुजु ठहर भएको उल्लेख छ । सो लगत्तै स्थानीयवासीले समेत पालिकामा आन्दोलन गर्दै आएका छन् ।