November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

उखु किसानले अझै पाएनन् गत वर्षको सरकारी अनुदानको रकम

3K

सर्लाही : सर्लाहीका उखु किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाएका छैनन्। सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो। 

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान भएका उखु किसानलाई सरकारले समेत अनुदान रकम भुक्तानीमा आलटाल गरिरहेको गुनासो गरे। भुक्तानीको झन्झटले किसान उखु खेतीबाट निरुत्साहित हुँदै गएका मैनालीको भनाइ छ।

चाडबाडको समयमा अनुदान रकम उपलब्ध गराइदिन उखु किसानले सरकारसँग माग गरेका छन्। यता, कोष तथा लेखा नियन्त्रण कार्यालय मलंगवाका निमित्त प्रमुख दामोदर पौडेलले अनुदान रकम वितरणका लागि दुई साताअघि कार्यालयलाई २० करोड सात लाख रुपैयाँ बजेट प्राप्त भइसकेको कार्यालयका जानकारी दिए।

Advertisement

उनले अहिले रोक्का भएको बजेट खुल्ने बित्तिकै दशैंअघि नै किसानलाई अनुदान वितरण गरिसक्ने बताए। अनुदान वितरणका लागि इन्दुशंकर चिनी उद्योग हरिवनबाट किसानको विवरण लिइसकेको र महालक्ष्मी चिनी उद्योग बगदहले एक/दुई दिनमै विवरण उपलब्ध गराउने बताएको कार्यालयले जनाएको छ।
 
उखुको भुक्तानी लिन किसानले बर्सेनि आन्दोलन गर्दै आइरहेका छन्। तीनवटा चिनी मिल रहेको सर्लाहीमा इन्दुशंकर चिनी उद्योग हरिवनले बेलैमा भुक्तनी दिए पनि महालक्ष्मी चिनी उद्योग बगदहले भने भुक्तानीमा ढिलाई गरेको उखु किसानले गुनासो गरेका छन्।

यता धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी उद्योग उखु किसानको पुरानो भुक्तानी दिन नसकेर गत वर्षदेखि बन्द रहेको छ।