April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रदेश २ को सत्ता समीकरण फेर्न उपेन्द्र यादवको कसरत जारी, कांग्रेसले मुख्यमन्त्री दाबी गरे विकल्पको तयारी

3.4K

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षको संघीय सरकारमा सहभागीलगत्तै प्रदेश २ सरकारको सत्ता समीकरण परिवर्तन गर्न अहिले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव जनकपुर बसेर जोडतोडको साथ भिडेका छन्।

स्रोतका अनुसार पूर्व-राजपा (महन्त ठाकुर–राजेन्द्र समूह) लाई सरकारबाट हटाएर नेपाली कांग्रेस, माधव नेपाल समूहका एमाले र माओवादी केन्द्रलाई लिएर सरकार पुनर्गठन गर्ने तयारी रहेको छ तर नेपाली कांग्रेसले मुख्यमन्त्रीको दाबी गर्दै आएको र जसपा अध्यक्ष अहिले राउतकै नेतृत्वमा सरकार पुनर्गठन गर्न खोजेको हुँदा विकल्पसमेत खोजी गर्न थालिएको छ।

यादवनिकट नेताहरुको भनाइअनुसार नेपाली कांग्रेसले मुख्यमन्त्रीको घुर्की देखाए एमाले (माधव नेपाल समूह) र माओवादीकै समर्थनमा सरकार बनाउने जसपाको तयारी रहेको छ।

Advertisement

कांग्रेसबाहेक पनि मत पुग्‍ने

सरकार बनाउन चाहिने ५३ जना सभासद पूर्व-राजपाका १३ जनाले साथ छाडे माओवादी केन्द्र र एमालेलाई साथ लिएर बनाउने तयारीमा यादव समूह रहेका छन्।

प्रदेशमा पूर्व-राजपाका नवकिशोर साह र रामनरेश यादव अहिले यादव पक्षमा लागेको हुँदा २ र पूर्व-समाजवादीको ३० सहित ३२, एमालेको माधव समूहका १३, माओवादी केन्द्रको ८ र १ जना स्वतन्त्र सभासदसहित ५४ जना सभासद पुग्ने भएको हुँदा नेपाली कांग्रेससँग कुरा नमिले पनि सरकार पुनर्गठन हुने लगभग पक्का भएको छ। यदि कांग्रेस सहमत भए १९ जना थप सांसद हुनेछन्।