जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) व्यावहारिक रूपमा विभाजित भइसकेको छ तर कानुनी र औपचारिक फुटको घोषणा हुन बाँकी छ। जसपाको औपचारिक विभाजन भएमा प्रदेश २ मा सत्ता समीकरण परिवर्तन हुनसक्ने तीव्र सम्भावना पनि बढेको छ भने मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढाल्नेसमेत प्रयास सुरु भएको छ।
प्रदेश २ मा तत्कालीन समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको गठबन्धनको सरकार बनेको छ, जुन करिब १३ महिना अघि पार्टी एकीकरणपश्चात् जनता समाजवादी पार्टी (जसपा) बनेको हो। तर, पार्टीको राम्रोसँग एकीरण नहुँदै अहिले जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक- अर्कालाई कारबाही गरेपछि विवाद निर्वाचन आयोगमा पुगेको छ।
त्यो टुंगो नलाग्दासम्म कानुनी रुपमा जसपा पार्टी एक भए पनि व्यावहारिक रुपमा विभाजित भइसकेको छ। जसपाभित्र अध्यक्ष महन्थ ठाकुर ओलीलाई साथ दिइरहेका छन्। अर्का अध्यक्ष उपेन्द्र यादव ओली विरोधी गठबन्धनमा छन्।
प्रदेश सरकारमा चलखेल सुरु
यसरी केन्द्रमा पार्टी विभाजनको असर अब प्रदेशमा पर्न थालेको छ। जसअनुसार मुख्यमन्त्री लालबाबु राउतलाई हटाएर मनिष सुमन मुख्यमन्त्री बन्ने प्रयासमा लागेको बताइएको छ।
सुमनलाई अगाडि बढ्न जसपा अध्यक्ष महन्थ ठाकुरले निर्देशन दिइसकेको बुझिएको छ। त्यसैले उनी प्रदेश संसदीय दलमा बहुमत जुटाउनको लागि सक्रिय भएका छन्।
प्रदेश २ को संसदीय दलका नेताबाट राउतलाई हटाएर मनिष सुमन नेता बन्न लागिपरेका छन्। जसपा प्रदेश २ को संसदीय दलको नेताको हैसियतले राउत मुख्यमन्त्री छन्। सुमन ठाकुर पक्षमा छन् भने मुख्यमन्त्री राउत उपेन्द्र यादव समूहमा छन्। सुमनले एमालेबाट साथ पाउने ग्रिन सिग्नल पाइसकेको बुझिएको छ। त्यसैले उनी अगाडि बढ्न खोजिरहेका छन्।
त्यसैगरी, पूर्व-राजपाका संसदीय दलका नेता जीतेन्द्र सोनल पनि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि दौडधुप सुरु गरेको छ। सोनल नेपाली कांग्रेस, ओली समूहको एमालेसहित पूर्व-राजपा खेमाका सांसदहरूसँग आफूलाई सरकार गठन गर्न सहयोग गर्नको लागि भेटवार्ता अगाडि बढाएका छन्।
त्यस्तै, मुख्यमन्त्री राउतले पनि सत्ता समीकरण परिवर्तनको कुरालाई लिएर अहिलेदेखि दलहरूसँग आफ्नो पक्षमा सहयोग गर्न छलफलमा जुटेको बताइएको छ।