April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बिरामीलाई डिस्चार्ज पेपर बनाएकै १ हजार ‘डिस्चार्ज शुल्क’

3.1K

वीरगञ्ज । कोरोना माहामारीमा जनता मारमा परिरहेकाे बेला वीरगञ्जको एक अस्पतालले भने डिस्चार्ज शुल्कको नाममा रकम असुली गरिरहेको सार्वजनिक भएको छ ।

अस्पतालहरुले जथाभावि शुल्क लिने गरेको गुनासो आइरहेका बेला एक कोरोना संक्रमित बिरामीलाई वीरगञ्जको निजी अस्पताल तराई हस्पिटलले डिस्चार्ज शुल्कको नाममा छुट्टै १ हजार जोडेर शुल्क लिएको बिल सार्वजनिक भएको हो ।

अहिलेसम्म अस्पतालले डिस्चार्ज शुल्कको नाममा रकम असुली गरेको यो पहिलो घटना हो । उपचारका लागि तराई हस्पिटलमा भर्ना भएका मुसाफिरप्रसाद यादवलाई दिइएको बिलमा डिस्चार्ज शुल्क वापत एक हजार लिएको उल्लेख छ । चिकित्सक भने यस्तो शुल्कका विषयमा आफूलाई जानकारी नभएको बताए ।

Advertisement

सो अस्पतालले जारी गरेको जारी गरेको १३४१५ नम्बरको डिस्चार्ज बिलमा कन्सल्टेन्ट चार्ज, क्याबिनको राउण्ड चार्ज, जेनेरल वार्डको चार्ज, नर्सिङ केयर चार्ज (आइसियु)को चार्जसँगै डिस्चार्ज ड्यास आर स्ल्यास सि (जेनेरल) उल्लेख गरिएको छ । उक्त चार्जको १ हजार शुल्क बिलमा जोडिएको छ ।

केही दिनअगाडि स्पर्श हस्पिटलले एक बिरामीसँग औषधि बाहेक सात दिनको सेवा शुल्क दुई लाख १५ हजार र प्रभु हस्पिटलले तीन दिन अक्सिजन दिए वापत ३९ हजार लिएको घटना सार्वजनिक भएको थियो ।

डिस्चार्ज शुल्कको बारेमा आफूलाई जानकारी नभएको चिकित्सकहरु नै बताउँछन् । अस्पतालले दिने गरेको सेवा सुविधाको आधारमा विभिन्न शीर्षकमा शुल्क लिने गरिएको भएपनि डिस्चार्ज शुल्क भनेको के हो ? थाहा नभएको एक चिकित्सक बताउँछन् । वीरगञ्ज महानगरपालिकाले भने चर्को शुल्क लिएको गुनासो बढेपछि अस्पतालको अनुगमन थालेको जनाएको छ ।