April 19, 2024, Friday
२०८१ बैशाख ८
1:37:26 pm

राजीनामापछि के गर्लान् मुख्यमन्त्री शंकर पोखरेल ?

3K

काठमाडाैं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार सबैलाई आश्चर्यचकित तुल्याउँदै राजीनामा दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको निकट एवं विश्वासपात्र मानिएका मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध प्रदेशसभामा ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल हुने दिन पारेरै राजीनामा दिएका हुन् ।

त्यसो त, प्रदेशसभामा मुख्यमन्त्री पोखरेल सहज बहुमतमा छन् । माओवादी केन्द्रका दुई र जसपा नेपालका चार सांसदलाई सम्बन्धित पार्टीले कारवाही गरी सांसद पदबाट हटाइसकेको अवस्थामा प्रदेशसभामा कायम ८१ सांसदमध्ये एमालेका ४१ जना छन् ।

यस्तो अवस्थामा प्रदेशसभामा ल्याइएको अविश्वास प्रस्ताव पारित हुने सम्भावना थिएन । तर आइतबार एकाएक मुख्यमन्त्री पोखरेलले किन राजीनामा दिए भन्नेबारे दलहरु समेत चकित भएका छन् ।

Advertisement

पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद सुदर्शन बरालका अनुसार मुख्यमन्त्री पोखरेलले एकल बहुमतको सरकार गठनका लागि अहिले राजीनामा दिएको हुनुपर्छ ।

यसअघि एमाले र माओवादी केन्द्रको गठबन्धनमा सरकार बनाएका उनले माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेको अवस्थामा एकल बहुमतको सरकार गठन गर्नका लागि अहिले राजीनामा दिएको हुन सक्ने बरालको भनाइ छ ।

‘अब उहाँले एकल बहुमतको सरकार बनाउन दावी गर्न सक्नुहुन्छ,’ उनले भने, ‘संविधानको अर्को धारामा टेक्नका लागि उहाँले राजीनामा दिएको हुन सक्छ, त्यसो भएको अवस्थामा अहिले अविश्वास प्रस्तावको पनि औचित्य रहँदैन भन्ने उहाँको बुझाइ होला ।’

अर्कोतिर, एकल बहुमतको सरकार बनाए पनि तीन दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको र उक्त अवधिभित्र विश्वासको मत लिन नसके आफ्नै नेतृत्वमा चुनावमा लैजानका लागि पनि मुख्यमन्त्री पोखरेलले अहिले राजीनामा दिएर राजनीतिक कोर्षलाई नयाँ बाटोतर्फ लगेको हुनसक्ने बराल बताउँछन् ।

नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुदीन खान पनि मुख्यमन्त्री पोखरेलले सके एकल बहुमतको सरकार बनाउने, नसके प्रदेशलाई चुनावतिर लैजानका लागि नयाँ स्टेप चालेको हुन सक्ने बताउँछन् । ‘संख्याको हिसाबले सत्तारुढ दलसँग बहुमत नै छ,’ उनले भने, ‘आफूसँग बहुमत रहेको अवस्थामा कसैले राजीनामा दिन्छ भने पक्कै केही न केही छ भनेर बुझ्नुपर्छ ।’

फ्लोर क्रस हुन सक्छ भनेर त्रसित भएर मुख्यमन्त्री पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने र ३० दिनसम्ममा विश्वासको मत लिन सक्ने अवस्था नभए चुनावमा लैजाने गरी कदम चालेको हुन सक्ने उनको भनाइ छ ।

एकल सरकार बनाउने रणनीति

एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालले  संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका पोखरेलले अब धारा १६८ को १ अनुसार एकल सरकार गठनका लागि राजीनामा दिएको तर्क गरे ।

पोखरेल २०७४ फागुनमा माओवादी केन्द्रसमेतको समर्थनमा मुख्यमन्त्री बनेका थिए । वैशाख ६ गते माओवादी केन्द्र, काँग्रेस र जसपाले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सोही अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि आइतबार प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।