March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

राष्ट्रिय सभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी

2.3K

काठमाडौं । राष्ट्रिय सभाको तीन पदमा कर्णालीबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिला समूहतर्फ दैलेखकी सावित्री मल्ल, दलित समूहतर्फ कालिकोटका विष्णु विक र अन्य समूहतर्फ रुकुम पश्चिमका कृष्णबहादुर रोकाय विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभाका ४० सांसदमध्ये महिलातर्फ गठबन्धनकी मल्लले २९ मत र स्थानीय तहतर्फ १ सय १५ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार हुम्लाकी विमला शाहीले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ४१ मत प्राप्त गरिन् ।

यस्तै दलित समूहतर्फ गठबन्धनका उम्मेदवार विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गर्दा प्रतिद्वन्द्वी एमाले उम्मेदवार दैलेखका हिक्मतबहादुर विकले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे ।

Advertisement

अन्यतर्फ गठबन्धन दलका उम्मेदवार रोकायले प्रदेशसभातर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार मुगुका डिल्लीप्रसाद भट्टले प्रदेशसभातर्फ १० र स्थानीय तहतर्फ ३६ मत प्राप्त गरे ।

मल्ल एकीकृत समाजवादीका तर्फबाट, विक माओवादी केन्द्रका तर्फबाट र रोकाय नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए ।