पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बहुमत जुटाएर मुख्यमन्त्री बनेका पाण्डेले शुक्रबार मात्र शपथ लिनेछन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
काँग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताएका छन् । ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ’ पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले भने ।
उनले सरकारको नेतृत्वमा भने आलोपालो हुने बताए । अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि पाण्डेले बताए ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । खगराजले वैशाख ९ गते प्रदेशसभामा परीक्षण गर्दा विश्वासको मत पाउन सकेनन् ।