काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे आज नियुक्त हुँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिता लिएपछि माओवादी, राप्रपासहितको समर्थनमा पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारीको सरकार वैशाख ९ गते ढलेको थियो । एमाले सरकार ढेलेपछि गण्डकीमा काँग्रेस–माओवादीको सरकार बन्न लागेको हो ।
कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।
गण्डकीमा शीर्ष तहमै काँग्रेस–माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरुले बताएका छन् । पहिलो चरणमा काँग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको छ ।
काँग्रेस र माओवादी पालैपालो काठमाडौं पुगेर सहजीकरण गरिदिन आग्रह गरेका थिए । माओवादीले कम्तिमा कति समयपछि मुख्यमन्त्री पालो पाउने ग्यारेन्टी गर्न, ७ मन्त्रालयमध्ये ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै अझै केन्द्रको निर्णय कुरिरहेको छ ।
गण्डकीमा काँग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) सदस्यले ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन सहज बहुमत पुग्छ । मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनावले जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ) पनि गठबन्धनमा हुँदा ३५ सदस्य पुग्छ ।