June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

विश्वासको मत प्राप्त नगरे मध्यावधि निर्वाचनमा जान सकिने मुख्यमन्त्री गुरुङको संकेत

160

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने चेतावनी दिएका छन् ।

संघीय सरकारले झैं गण्डकी प्रदेश सरकारले पनि मध्यावधि निर्वाचनको घोषणा गर्ने त होइन भन्ने आशंका बढिरहेको समयमा मुख्यमन्त्री गुरुङले विश्वासको मत हासिल हुन नसके प्रदेशसभा विघटन हुन सक्ने संकेत गरेका छन् ।

उनले प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको र यो तथ्य एक महिना अघि प्रमाणित भएको दावी गरे । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार सञ्चालन गरेर उपधारा ४ अन्तर्गत विश्वासको मतका लागि आफू प्रदेशसभामा उपस्थित भएको उनले बताए ।

‘विश्वासको मत पाएमा सरकारको नीति तथा कार्यक्रम पेस गरी गण्डकी प्रदेशसभा बैठकमा बजेट पेस हुने नै छ,’ उनले भने, ‘अन्यथा संवैधानिक व्यवस्थाअनुसार अघि बढ्नुपर्ने व्यहोरा अवगत गराउन चाहन्छु ।’

मुख्यमन्त्री गुरुङले तीन वर्षको अवधिमा आफ्नो नेतृत्वको सरकारले समृद्ध प्रदेश निर्माणको बलियो आधारशिला निर्माण गरेको दावी गरे ।

उनले संवैधानिक व्यवस्था र संघीयताको मर्म बमोजिम प्रदेश सरकारका सेवा प्रभावकारी रुपमा प्रवाह गरेको जिकिरसमेत गरे । दलहरुबीच सहमतिमै प्रदेशको नाम र राजधानी तोकिएको पनि उल्लेख उनले गरे ।

विश्वासको मतसम्बन्धी प्रस्ताव मन्तव्यसहित पेस गर्ने क्रममा उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको ३९ महिनामा प्राप्त उपलब्धिबारे चर्चा गर्न अधिकांश समय खर्चिएका थिए ।

संविधान, संवैधानिक व्यवस्था लोकतन्त्रमा महत्वपूर्ण कुरा भएको चर्चा गर्दैै उनले राजनीतिक इतिहासको अस्थिर अध्याय नदोहोरियोस् भन्ने कामनासमेत गरे ।

आफूले वैशाख २९ देखि प्रदेशसभामा ठुलो दल नेकपा एमालेको संसदीय दलका नेताको हैसियतले सरकारको नेतृत्व गर्दै आएको चर्चा गर्दै उनले प्रदेश सरकाले लिएका नीति, समृद्ध प्रदेश बनाउने लक्ष्य र प्रदेशका जनताले निर्वाचनमार्फत व्यक्त गरेको जनमतको सम्मानका लागि पनि आफूलाई विश्वासको मत दिनुपर्ने तर्क गरे ।