September 18, 2021, Saturday
२०७८ आश्विन २
1:37:26 pm

मनाङमा संक्रमितको उपचारमा समस्या, हेलिकप्टर चार्टर्ड गर्नुपर्ने बाध्यता

740

मनाङ- नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि बढ्दो सङ्क्रमितको संख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ । उपचारको समस्या न्युनीकरण भएको छैन भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले जानकारी दिए ।

‘जिल्लामा तीन कोभिड अस्पतालमा डाक्टर छैनन्, आइसोलेसन नहुँदा टेन्टमा राखेर सङ्क्रमितको उपचार गर्नु परिरहेको छ’, लामिछानेले भने, ‘सङ्क्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पुर्‍याउनुको विकल्प छैन ।’ समयमा हेलिकप्टर आउने अवस्था नहुँदा सङ्क्रमितलाई अस्पतालको पहुँचसम्म पुर्‍याउन समेत मुस्किल छ ।

स्थानीय तहले आइसोलेसन वार्ड तयार पारिरहे पनि सम्पन्न भएका छैनन् । त्यसैले केही दिनअघि सङ्क्रमण पुष्टि भएका एक दम्पतीलाई टेन्टमा राखेर तीन दिनसम्म उपचार गर्दा स्वास्थ्य जटिल भएपछि पोखरा लगिएको थियो । प्रजिअ लामिछानेले आइसोलेसन निर्माण हुँदै गरेकाले तत्कालको लागि त्यसरी नै टेण्टमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए । उनीहरूको अवस्था जटिल बन्दै गएपछि हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको लामिछानेले बताए ।

उनका अनुसार जिल्ला अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमितलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा र एक विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । जिल्लावासीको स्वास्थ्यमा समस्या भएमा हेलिकप्टरबाट नै उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।

आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था छैन । जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा सङ्क्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ । स्थानीय तहले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र सञ्चालनमा ल्याइने प्रजिअ लामिछाने बताउँछन् ।

मनाङमा जिल्ला अस्पतालको नयाँ भवन बनिरहँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको पनि अभाव छ । कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सकदेखि कर्मचारीको अभाव छ । अस्पतालको भवन निर्माण भएपनि त्यहाँबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, अनमी र सरसफाई कर्मचारीको अभाव छ ।

विकट क्षेत्र भएकाले पनि यहाँको सेवामा चिकित्सक, कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको सधैंजसो अभाव रहने गर्दछ । जिल्ला अस्पताल मनाङका निमित्त प्रमुख डा. प्रतिभा गौली यहाँ भएका भेन्टिलेटर र आइसियु कक्ष सञ्चालन गर्नसक्ने जनशक्ति समेत नभएको बताउँछन् । जनशक्तिको अभावका कारण सबै उपकरण सञ्चालनमा ल्याउन नसकिएको उनले बताए ।

पहिलो चरणको कोभिडबाट यहाँ कम मानिसमा सङ्क्रमण देखिए पनि दोस्रो चरणमा विगतको भन्दा दोब्बरमा सङक्रमण पुष्टि भएको छ । पहिलो चरणमा २० जना सङ्क्रमित भएकामा हालसम्म उक्त संख्याको दोब्बर सङ्क्रमित थपिइसकेका छन् । स्थलमार्गबाट मनाङका बिरामीलाई अस्पताल पुर्‍याउन सक्ने सहज अवस्था छैन । मनाङ जाने सबै सडक अहिलेसम्म कालोपत्रे भएका छैनन् । पूर्ण रुपमा कच्ची सडक छन् । कच्ची सडकबाट बिरामी वा जटिल प्रकारका कोरोना सङ्क्रमितलाई अस्पताल लैजादा बाटोमै ज्यान जान सक्ने बढी खतरा छ ।

जिल्ला अस्पताल मनाङमा उपचाररत बिरामीमा कोभिड पोजिटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि अस्पताल सिल गरिएको अस्पतालले जनाएको छ ।