May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

गण्डकीमा गुरुङ सरकारको छिनोफानो १३ गते हुने

390

पोखरा : गण्डकी प्रदेश सरकारको विशेष अधिवेशन वैशाख १३ गते बस्दै छ। सभाको विशेष अधिवेशनले गुरुङ सरकारको छिनोफानो लगाउने छ। कांग्रेस, माओवादी र जसपाका २८ सांसदले विशेष अधिवेशनको माग गरेपछि १३ गते प्रदेश सभाको विशेष अधिवेशन हुँदै छ।

आफ्नो सरकारको विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने चाल पाएपछि चालु संसद अधिवेशन नै अन्त्य गराएका मुख्यमन्त्री गुरुङले पुनः संसद फेस गर्नु पर्ने भएको हो। मुख्यमन्त्री गुरुङको यो कदमलाई धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दाँजेका थिए। ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन्।

कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन्। यसै पनि अल्पमतमा रहेको गुरुङ नेतृत्वको सरकार फेरिने पक्कापक्की जस्तै छ। आकस्मिक बाहेकको अवस्थामा गुरुङ सरकार परिवर्तन हुने देखिन्छ। विपक्षी दलका सांसदहरु नयाँ सरकार आउने बताउछन्। राष्ट्रिय जनमोर्चा (राजमो) की सांसद पियारी थापा आकस्मिक बाहेकको अवस्थामा नयाँ सरकार आउने बताउँछिन्।

‘भित्र आकस्मिक खालको खेलहरु नखेलिए, फ्लोर क्रसदेखि यो त फेरिन्छ नि त। माथिदेखिको परिस्थिति छ’ उनले भनिन्, ‘हामीले चाहेको पनि ओली पक्षधरको बहिर्गमन नै हो।’ गुरुङ नेतृत्वको सरकारको निर्णायक भुमिकामा रहेको राजमोले अन्तिम समयमा सरकारबाट हात झिकेको थियो। राजमोको समर्थन पाएको खण्डमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई बहुमत पुग्थ्यो।

यता, माओवादीबाट निर्वाचित सांसद दीपक कोइराला अहिलेको सरकारको ठाउँमा नयाँ सरकार आउने दाबी गर्छन्। ‘सरकार जान्छ, नयाँ सरकार आउछ’ उनले भने। संसद अधिवेशन अन्त्य भएको भोलिपल्टै दर्ता भएको अविश्वास प्रस्ताव विशेष अधिवेशनमा टेबुल हुने छ। प्रस्तावमाथि छलफलपछि मतदान हुने सांसद कोइरालाले बताए।

‘भोलि कार्यव्यवस्था परामर्श समितिको मिटिङ छ’ त्यसले कस्तो कार्यसूची बनाउँछ। त्यसैमा भर पर्छ। सकेसम्म १३ गते नै टुंगो लगाउने भन्ने कुरो छ।’ समितिको बैठकले अविश्वास प्रस्तावमाथि मतदान गर्ने मितिको टुंगो भोलि लगाउने छ। अविश्वास प्रस्तावको पक्षमा बहुमत आए मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त हुनेछन्। प्रस्तावमाथि छलफल लम्बिएको खण्डमा १५ गतेसम्म सरकारको छिनोफानो हुने छ। दलहरु सहमत भए १३ गते नै प्रस्तावमाथि छलफल हुने छ।