May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

सञ्चार क्षेत्रलाई नियन्त्रण होइन, सहजीकरण गर्दै जाने मन्त्री श्रेष्ठको भनाइ

4.1K

हेटौंडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सञ्चार क्षेत्रलाई नियन्त्रण होइन सहजीकरण गर्दै जाने बताए । नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा शुक्रबार आयोजना गरेको ‘सञ्चारकर्मीहरूको अधिकार, चुनौती र समाधान’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै श्रेष्ठले सञ्चार क्षेत्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यकता अनुसार ऐन अझै संशोधन गर्दै जाने बताएका हुन् ।

उनले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ जारी भएको र यस ऐन २०८० सम्म आउँदा ३ पटक संशोधन गरिसकिएको जानकारी दिँदै लोकतन्त्रको विकल्प अझ बढी लोकतन्त्र र लोकतन्त्रको पहरेदार मिडिया भएकाले अझै संशोधन गर्दै जाने बताए ।

उनले संविधानको मर्म र भावना अनुसार सङ्घीय सरकारले कानुनहरू बनाउन ढिलाई गरिरहेको, बनेका कतिपय कानुन कार्यान्वयनमा नलगेको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै नचिन्ने अधिकांश पुराना ऐनकानुनहरू परिमार्जन नगरेको कारण सङ्घीयता कार्यान्वयनमा समस्या आएको कुरा पनि बताए । मन्त्री श्रेष्ठले स्वरोजगार मिडियाहरू धमाधम बन्द हुँदै गइरहेको, सञ्चारगृहमा कार्यरत पत्रकारहरूले पारिश्रमिक नपाएर पेसा नै परिवर्तन गर्नु परिहरेको उल्लेख गर्दै स्वरोजगार मिडियामा लगानी बढाउने र सञ्चारगृहका सञ्चालकहरूलाई पत्रकारहरूको पारिश्रमिक उपलब्ध गराउनै पर्ने कानुनी व्यवस्था गर्न पहल गर्ने कुरा पनि बताए ।

Advertisement

आफू समग्र सञ्चार क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको कुरा पनि मन्त्री श्रेष्ठले बताए ।

कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साललगायतले सम्बोधन गरेका थिए ।