काठमाडौं । बागमती प्रदेश सरकारले ‘खुल्ला लेख प्रतियोगिता’ गर्ने भएको छ । मन्त्रालयले विहीबार सूचना जारी गर्दै गणतन्त्र दिवस २०८० को अवसरमा प्रतियोगिता आयोजना गरिने जानकारी दिएको हो ।
सञ्चार रजिष्ट्रारको कार्यालयको संयोजन र नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा “गणतन्त्रको १५ वर्षः अवसर र चुनौती” विषयमा लेख लेख्नुपर्ने मन्त्रालयले जनाएको छ ।
प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने प्रतिस्पर्धीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद प्राप्त गर्नेछन् । विजेताहरूलाई गणतन्त्र दिवस मूल समारोहमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिने छ ।
पुरस्कार दिने मूल समारोह समितिका अनुसार लेख १५०० शब्दको हुनुपर्ने छ । प्राप्त लेखको छनौट गर्ने अधिकार सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा गठित समितिलाई हुने जनाइएको छ । उक्त समितिले स्वीकृत गरेको मापदण्डका आधारमा लेख छनौट गरिने आयोजकले जनाएको छ ।
लेखमा प्रयोग भएको भाषा, तथ्य तथ्याङ्क लेख तयार गर्न अवलम्बन गरिएको खोज अनुसन्धान विधि समेतका आधारमा लेख छनौट गरिने आयोजकको भनाइ छ ।
प्रतियोगितामा सहभागी बन्न चाहने लेखक तथा पत्रकारले आफ्नो लेख जेष्ठ १३ गते अपरान्ह ५ः०० बजेभित्र पठाइसक्नुपर्ने छ । छनौट भएको लेख र लेखकको जानकारी जेष्ठ १४ गते गराइने छ ।