काठमाडौं । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले
पर्यावरण मैत्री विकास गर्न नसके विकासले विनास निम्त्याउने बताए । सामाजिक संजालमा आफ्नो धारणा राख्दै श्रेष्ठले डोजरे विकासका कारण प्राकृतिक बिपद् भोग्नुपरेको बताएका हुन् ।
‘पर्यावरण मैत्री विकास गर्न सकिएन भने विकासले अन्ततः विनास नै निम्त्याउँछ । त्यसैले अब भत्काउने क्रम बन्द गरी भत्काएका संरचनाहरूलाई निर्माण (स्तरोन्नति) गर्ने अभियानमा लाग्दा कसो होला ?’, उनले सामाजिक संजालमा लेखेका छन् ।
जसका लागि बागमती सरकारले नागरिकबाट सुझावको अपेक्षा गरेको बताएका छन् । उनले लेखेका छन्, ‘प्रबुद्ध प्रदेशवासी नागरिकहरूसँग सुझावको अपेक्षा गरिएको छ । किनकी, प्रदेश सरकार नीति योजना र बजेट निर्माणको क्रममा छ ।’
नेपालमा ‘डोजरे विकास’ संस्कृतिको रूपमा विकसित भैरहेको र बागमती प्रदेश यसको विनासबाट अछुतो नरहेको भन्दै यो कार्य बन्द गर्नुपर्ने मन्त्री श्रेष्ठको धारणा छ ।