काठमाडौं । बागमती प्रदेशसभा सदस्य गंगा नारायण श्रेष्ठले जनताको लागि काम गर्न सुरु गरेका छन् । सिन्धुली–२ को (ख) बाट भर्खरै प्रदेशसभामा निर्वाचिन श्रेष्ठले निर्वाचित भएको केहि दिनमै यहि आर्थिक वर्षभित्र सिन्धुलीको सबै क्षेत्रमा विद्युत उपलब्ध गराउनुका साथै सिन्धुलीवासीहरुलाई संचारको पहुँचमा पु¥याउने लक्षसहित काम सुरु गरेका हुन् ।
सिन्धुलीका जनताको पहिलो माग नै विद्युत र संचार भएको हुँदा आफूले यसलाई पहिलो प्राथमिकतामा राखेर तत्काल कार्य सुरु गरेको श्रेष्ठको भनाइ छ । ‘भौतिक पूर्वाधारविना अरु गर्न सकिदैन । र, त्यहाँका सतप्रतिशत नागरिकको पहिलो माग नै विद्युत र संचार भएको हुँदा यहिबाट कामको सुरुवात गरेको हुँ ।’, श्रेष्ठले नेपाल मामिलासँग भने ।
श्रेष्ठले विद्युतका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेट गरेका छन् । घिसिङले यही आर्थिक वर्षभित्र सिन्धुलीको सबै क्षेत्रमा विद्युतिकरण सम्पन्न गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको हुँदा विद्युतिकरण सम्पन्न हुने कुरामा विश्वस्त रहन श्रेष्ठले सिन्धुलीवासी जनतालाई आग्रह समेत गरेका छन् ।
यस्तै, श्रेष्ठले सञ्चारका लागि नेपाल टेलिकमका आयोजना प्रबन्धक गोपाल केसी, उपप्रबन्धक अनुराधा शर्मा अधिकारी र इन्जिनियर करण भण्डारीसँग भटे गरी छलफल गरेका छन् । छलफलबाट घ्याङ्लेख गाउँपालिका वडा नम्बर ४ को चौकीडाँडा र वडा नम्बर ५ को सिंपालमा निर्माण सम्पन्न भएको टावरमा ढिलोमा माघ मसान्तभित्र सेवा सञ्चालनमा ल्याइसक्ने, वडा नम्बर १ को अमलेमा रूफटप टावरको लागि माघ मसान्तभित्र सर्भे सम्पन्न गरि निर्माण कार्य अघि बढाउने, वडा नम्बर २ बस्तिपुरमा जीबीटी टावर राख्नका लागि यथासक्य चाँडो सर्भेका लागि प्राबिधिक पठाउने निष्कर्ष निकालेको बताए ।
यस्तै, हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ को भीमगढ डाँडामा रहेको तर प्रयोगमा नरहेको टावर गढीमा स्थानान्तरण गर्न तुरुन्तै काम सुरु गर्ने, वडा नम्बर ६ को लेकटोल, वडा नम्बर ७ को भुताहा र वडा नम्बर ७ कै जरायोटारमा टावर राख्ने निर्णय भैसकेकोले त्यसलाई टेण्डर प्रक्रियामा लैजाने निर्णय निष्कर्ष निस्किएको छ भने मरिण गाउँपालिका वडा नम्बर ७ को दाहाल डाँडामा रहेको स्काईको टावर वडा नम्बर १ को खलंगामा स्थानान्तरण गर्ने काम तुरुन्त सुरु गर्ने, वडा नम्बर ५ अम्बासमा रुफटप वा जीबीटीमध्ये उपयुक्त टावरको तुरुन्त सर्भे गर्ने, वडा नम्बर ४ ठुली दमार र ४ कै कुडुलेमा रुफटप टावरका लागि सर्भे गरि काम अघि बढाउने निष्कर्ष निस्किएको श्रेष्ठले सामाजिक संजालबाट जानकारी दिएका छन् ।