January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

नेपाली काँग्रेस धादिङ जिल्लाको सभापतिमा रामनाथ अधिकारी

775

काठमाडौं । नेपाली काँग्रेस धादिङ जिल्लाको सभापतिमा रामनाथ अधिकारी निर्वाचित बनेका छन् । नेपाली काँग्रेस धादिङको १४औँ जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी भीमप्रसाद ढुंगानालाई ३६ मतले हराउँदै अधिकारी विजयी भएका हुन् ।

जिल्ला अधिवेशनका लागि भएको मतदानमा अधिकारीले १ हजार ८२ मत ल्याए भने उनका प्रतिद्धन्द्धी ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए ।

अधिकारी जिल्ला सभापतिमा निर्वाचित भएको यो पाँचौँ पटक हो । यसअघि २०५५ साल, २०५७ सालमा भएको पाटीको १०औँ अधिवेशन, २०६२ मा भएको ११औँ अधिवेशन, २०६७ सालमा भएको १२औँ अधिवेशनमा पनि सभापतिको उम्मेदवार बन्दै विजयी भएका थिए ।

Advertisement

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ७ सुनौलाबजारमा जन्मिएका अधिकारी तीन दशकभन्दा लामो समयदेखि काँग्रेसको राजनीतिमा सक्रिय छन् । नेपाली काँग्रेसभित्र इमान्दार र सिद्धान्तमा निष्ठावान नेताको रुपमा परिचित उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका अत्यन्तै नजिक रहेर काम गरेका थिए ।

सरकारी जागिर नै छोडेर राजनीतिमा होमिएका उनी पन्चायति व्यवस्थाको बिरुद्ध आन्दोलनमा २०४६ साल भन्दा अघि पटकपटक जेल तथा हिरासतमा परेका थिए । देशमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेलेका थिए ।

सभापतिमा निर्वाचित हुँदा अत्यन्तै खुशी लागेको एनआरएन अष्ट्रियाका अध्यक्ष भवानी तिवारीले बताइन् । ‘राजनीति पनि समाज सेवा हो भन्ने समाजमा बुझाउँन गाह्रो छ, तर यदि राजनीति दलले सच्चा नेतृत्व चयन गरेर देखाए समाजले आफै बुझ्न सक्छ । रामनाथ अधिकारी निर्वाचित हुँदा आस्था राख्ने सबैलाई गौरव लागेको छ । अध्यक्ष तिवारी बताउछिन् । ‘वहाँ नेपाली काँग्रेस धादिङका अभिभावक, समाजवादी नेता, धादिङ्ग जनताका सुखदुःखका सहयोगी हुनुहुन्छ ।’, उनले थपिन् ।